काठमाडौं ।
अमेरिकी सरकारका कर्मचारी अब टिकटकमा भिडियो पोस्ट गर्न र लामो समयसम्म स्क्रोल गर्न पाउने भएका छन्।
व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी) ले जारी गरेको नयाँ ज्ञापनपत्रले यस्तो व्यवस्था गरेको हो। यो कदमसँगै संघीय सरकारले अधिकांश सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने सन् २०२२ को कानुनलाई औपचारिक रूपमा हटाउने प्रक्रिया अघि बढाएको छ।
ओएमबीको ज्ञापनपत्रमा अमेरिकी न्याय मन्त्रालयको यसअघिको रायलाई आधार बनाइएको छ। न्याय मन्त्रालयका अनुसार टिकटकको हालको संस्करणमा अमेरिकी लगानीकर्ताको स्वामित्व रहेको र बाइटडान्सअन्तर्गत सञ्चालन भएको पुरानो एपभन्दा फरक सिफारिस एल्गोरिदम प्रयोग हुने भएकाले सन् २०२२ को कानुन अब लागू हुँदैन।
“सरकारी उपकरणमा टिकटक प्रयोग गर्न सकिन्छ,” ओएमबीको ज्ञापनपत्रमा भनिएको छ।
इन्ग्याजेटका अनुसार यो निर्णयसँगै टिकटकमाथिको सरकारी प्रतिबन्धका बाँकी रहेका प्रमुख अवरोधमध्ये एक पनि हटेको छ। चीनसँग टिकटकको मूल कम्पनीको सम्बन्धलाई लिएर सुरक्षा चिन्ता बढेपछि सन् २०२२ मा अधिकांश संघीय सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाइएको थियो।
तत्कालीन राष्ट्रपति जो बाइडेनको सरकारका अधिकारीहरू, एफबीआई निर्देशक क्रिस रेयसहितले टिकटकलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका थिए। यद्यपि त्यस जोखिमको वास्तविक स्वरूपबारे तीव्र बहस भएको थियो।
गुप्तचर अधिकारीहरूले टिकटकबाट उत्पन्न हुन सक्ने खतराबारे विस्तृत जानकारी सार्वजनिक गरेका थिएनन्। तर सांसदहरूले एपले संकलन गर्ने तथ्यांकबारे प्रश्न उठाएका थिए। साथै, टिकटकको सिफारिस एल्गोरिदम चिनियाँ सरकारको प्रभावमा पर्न सक्ने सम्भावनाबारे पनि प्रश्न उठाइएको थियो।
गत वर्ष अमेरिकामा टिकटक केही समय बन्द भएको थियो। तत्कालीन राष्ट्रपति बाइडेनले बाइटडान्सलाई टिकटक अमेरिकी लगानीकर्तालाई बिक्री गर्न वा प्रतिबन्धको सामना गर्नुपर्ने व्यवस्था गर्ने कानुनमा हस्ताक्षर गरेका थिए।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि टिकटक पुनः सञ्चालनमा आएको थियो र यस वर्षको सुरुवातमा एपको अमेरिकी संस्करणलाई छुट्टै कम्पनीमा विभाजन गर्ने सम्झौता पूरा भएको थियो।
टिकटकको अमेरिकी संस्करण अहिले टिकटक यूएसडीएस जोइन्ट भेन्चर नामक संस्थाको नियन्त्रणमा छ। यो संस्थामा ओराकल, सिल्भर लेक लगायतका लगानीकर्ताको समूहको स्वामित्व छ। बाइटडान्ससँग भने कम्पनीको १९.९ प्रतिशत हिस्सा कायम छ।
केही संघीय सरकारी निकायले यसअघि नै आधिकारिक खाताबाट टिकटकमा सामग्री पोस्ट गर्न थालेका छन्। न्याय मन्त्रालयको रायपछि यातायात विभाग, अर्थ मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा विभागले गत महिना नयाँ टिकटक खाता खोलेका थिए। ह्वाइट हाउसले भने गत वर्ष नै आधिकारिक टिकटक खाता खोलेको थियो।
प्रकाशित: २८ श्रावण २०८३, बिहीबार