अनलाइन खाताबाट निजी तस्बिर चोर्ने साइबर अपराधीबारे एफबीआईको चेतावनी 

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
अनलाइन खाताबाट निजी तस्बिर चोर्ने साइबर अपराधीबारे एफबीआईको चेतावनी 

काठमाडौं ।

एफबीआईले साइबर अपराधीहरूले वयस्क र बालबालिकाका सामाजिक सञ्जाल खातामा ह्याक गरी उनीहरूका निजी तथा यौनजन्य तस्बिर र भिडियो चोर्ने गरेको भन्दै चेतावनी दिएको छ।

एफबीआईको चेतावनीअनुसार अपराधीहरूले मानिसलाई लक्षित गर्न मुख्य रूपमा सामाजिक इन्जिनियरिङका उपाय प्रयोग गर्छन्। पीडितलाई प्रायः धम्की दिएर पैसा माग्ने गरिन्छ वा चोरी गरिएका सामग्री अनलाइन सार्वजनिक गरिन्छ।

“पीडितले प्रायः दुर्व्यवहार, यौनजन्य सामग्री सार्वजनिक गर्ने धम्की, पछ्याउने वा अन्य लक्षित आक्रमणको सामना गर्नुपर्छ। उदाहरणका लागि, चोरी गरिएको सामग्री पीडितकै सामाजिक सञ्जाल पेजमा विज्ञापन गर्ने गरिन्छ,” एफबीआईले जनाएको छ।

टेकक्रञ्चका अनुसार यस प्रकारका अपराध वर्षौंदेखि हुँदै आएका छन्। तर एफबीआईको पछिल्लो सार्वजनिक चेतावनीले यस्ता घटना बढिरहेको संकेत गर्न सक्ने सुरक्षा सचेतना तालिम दिने कम्पनी सोसलप्रुफ सेक्युरिटीकी प्रमुख कार्यकारी अधिकृत राचेल टोबकले बताएकी छन्।

टोबकका अनुसार यस्ता आक्रमणमा विशेषगरी युवा पुरुषलाई लक्षित गरिन्छ। उनले यस्ता घटना “ठूलो सार्वजनिक स्वास्थ्य समस्या” भएको बताइन्, किनकि कतिपय अवस्थामा पीडितले यस्तो घटनापछि आत्मघाती व्यवहार वा आत्महानिको प्रयास गर्ने गरेका छन्।

यस विषयमा एफबीआईसँग प्रतिक्रिया माग्दा उसले प्रत्यक्ष टिप्पणी नगरी एउटा प्रेस विज्ञप्तितर्फ संकेत गरेको थियो। उक्त विज्ञप्तिमा एफबीआईले सार्वजनिक प्रोफाइल भएका कारण विद्यार्थी खेलाडीहरूलाई यस्ता आक्रमणमा बारम्बार लक्षित गर्ने गरेको जनाएको छ।

एफबीआईको चेतावनीअनुसार आक्रमणकारीहरूले चुहिएका वा पहिले प्रयोग गरिएका पासवर्ड प्रयोग गरी खातामा बारम्बार प्रवेश गर्ने प्रयास गर्छन्। उनीहरूले इन्स्टाग्राम तथा अन्य सामाजिक सञ्जाल कम्पनीका ग्राहक सेवा प्रतिनिधि भएको नक्कल गर्दै प्रयोगकर्तालाई सम्पर्क गर्छन् र खाता पुनःप्राप्त गर्नुपर्ने बहाना बनाउँछन्। केही ह्याकरले वास्तविक सामाजिक सञ्जालको लगइन पेजजस्तै देखिने नक्कली डोमेन प्रयोग गरी फिसिङ इमेल पनि पठाउँछन्।

आफूलाई सुरक्षित राख्न फरक–फरक र बलिया पासवर्ड प्रयोग गरी पासवर्ड म्यानेजरमा सुरक्षित राख्न, बहु-तह प्रमाणीकरण (एमएफए) अनिवार्य रूपमा सक्रिय गर्न र सामाजिक सञ्जाल कम्पनीको कर्मचारी भएको दाबी गर्दै आफैं सम्पर्क गर्ने अपरिचित व्यक्तिप्रति सतर्क रहन एफबीआईले सुझाव दिएको छ।

प्रविधि कम्पनीहरूले सामान्यतया आफ्ना ग्राहकलाई यसरी आफैं सम्पर्क नगर्ने पनि एफबीआईले जनाएको छ। एफबीआईले निजी तथा यौनजन्य तस्बिर अनलाइन खातामा भण्डारण नगर्न पनि आग्रह गरेको छ।

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार