काठमाडौं ।
च्याटजीपीटी विश्वभरका डेस्कटपमा उपलब्ध भए पनि लिनक्स प्रयोगकर्ताका लागि भने यसको छुट्टै डेस्कटप एप थिएन। ओपन सोर्स डेभलपर समुदायका केही क्षेत्रले ओपनएआईसँग लिनक्सका लागि च्याटबट उपलब्ध गराउन माग गर्दै आएका थिए।
यसै साता ओपनएआईले लिनक्सका लागि छुट्टै च्याटजीपीटी एप सार्वजनिक गर्दै यो कमी पूरा गरेको छ।
“लिनक्स डेस्कटप एपका लागि सबैभन्दा धेरै माग गरिएका प्लेटफर्ममध्ये एक थियो। यो सुरुवातसँगै च्याटजीपीटी र कोडेक्स सबै प्रमुख डेस्कटप अपरेटिङ सिस्टममा उपलब्ध भएका छन्,” कम्पनीले मंगलबार भनेको छ।
प्रिभ्युका रूपमा सार्वजनिक गरिएको नयाँ एपमार्फत लिनक्स प्रयोगकर्ताले विभिन्न डिस्ट्रिब्युसनमा च्याटजीपीटी, च्याटजीपीटी वर्क र कोडेक्स प्रयोग गर्न सक्नेछन्। यो एप मंगलबारदेखि विश्वभर उपलब्ध भएको टेकक्रञ्चले उल्ल्लेख गर्को छ।
ओपनएआईका अनुसार समर्थित डिस्ट्रिब्युसनमा उबुन्टु २४.०४ र २६.०४ एलटीएसका डेस्कटप संस्करण, डेबियन १३ तथा फेडोरा ४३ र ४४ रहेका छन्। लिनक्स समुदायमा सयौँ डिस्ट्रिब्युसन भए पनि ओपनएआईले छनोट गरेका यी डिस्ट्रिब्युसन विभिन्न ‘डाउनस्ट्रीम’ डेस्कटप डिस्ट्रिब्युसन वा ‘फ्लेभर’का आधारका रूपमा प्रयोग हुने भएकाले ती पनि ओपनएआईका एपसँग अनुकूल हुने अपेक्षा गरिएको छ।
ओपनएआई लिनक्स डेस्कटप एप सार्वजनिक गर्न एन्थ्रोपिकभन्दा केही पछि परेको छ। एन्थ्रोपिकले करिब एक महिनाअघि नै लिनक्सका लागि क्लाउड डेस्कटप एप सार्वजनिक गरेको थियो। एन्थ्रोपिकको एप उबुन्टु २२.०४ वा त्यसपछिका संस्करण र डेबियन १२ वा त्यसपछिका संस्करणमा उपलब्ध छ।
प्रकाशित: २८ श्रावण २०८३, बिहीबार