काठमाडौं ।
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले स्टारगेट डाटा सेन्टर क्याम्पस विकास गरिरहेको पावर पूर्वाधार कम्पनी लान्सियम मा ३ अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने भएको छ।
द इन्फर्मेसनको रिपोर्ट उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार एनभिडियाले सुरुवाती चरणमा लान्सियममा करिब २० प्रतिशत हिस्सेदारीका लागि २ अर्ब डलर लगानी गर्नेछ। ब्ल्याकस्टोनको समर्थन रहेको लान्सियम मा थप १ अर्ब डलर लगानी भने कम्पनीले ग्रिड कनेक्सनलगायत निश्चित लक्ष्य पूरा गरेमा गरिनेछ।
सम्झौतापछि लान्सियम तथा कम्पनीको स्वामित्वमा रहेका जग्गा र विद्युत् कनेक्सनसहितको उद्यम मूल्य करिब १० अर्ब डलर पुग्ने रिपोर्टमा उल्लेख छ।
टेकक्रञ्चका अनुसार यस लगानीबाट लान्सियमले आफ्नो पूर्वाधार विस्तार गर्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०२७ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने सम्भावनासमेत खोजिरहेको जनाइएको छ।
एनभिडिया र लान्सियमले भने रोयटर्सले प्रतिक्रिया माग्दा तत्काल कुनै टिप्पणी गरेका छैनन्।
स्टारगेट, सफ्टब्याङ्क, ओपनएआई र ओर्याकलबीचको संयुक्त परियोजना हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा घोषणा गरेको यो परियोजनाअन्तर्गत कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक डाटा सेन्टर तथा अन्य पूर्वाधार निर्माणमा ५०० अर्ब डलरसम्म लगानी गर्ने योजना सार्वजनिक गरिएको थियो।
लान्सियमको टेक्सासस्थित १ हजार एकड क्षेत्रफलमा फैलिएको लान्सियम क्लिन क्याम्पस स्टारगेट परियोजनाको पहिलो सञ्चालनमा आएको साइट हो। एबिलिनमा रहेको उक्त क्याम्पसले ठूलो मात्रामा विद्युत् आवश्यक पर्ने एआई डेटा सेन्टरका लागि ऊर्जा तथा पूर्वाधार उपलब्ध गराउने लक्ष्य राखेको छ।
प्रकाशित: २५ श्रावण २०८३, सोमबार