ह्याकिङ समूहलाई कोडनेम किन दिइन्छ? यस्तो छ तथ्य

  • Technology Khabar | २५ श्रावण २०८३, सोमबार
ह्याकिङ समूहलाई कोडनेम किन दिइन्छ? यस्तो छ तथ्य

काठमाडौं ।

एक दशकभन्दा लामो समयदेखि साइबर सुरक्षा उद्योगले विभिन्न ह्याकिङ समूहलाई नाम दिँदै आएको छ। ‘फेन्सी बियर’ जस्ता केही समूह चर्चित साइबर आक्रमण र सम्झन सजिला नामका कारण मूलधारमै परिचित भएका छन्। अन्य समूह भने साइबर सुरक्षा उद्योगभित्र मात्र चिनिन्छन्।

धेरैजसो अवस्थामा उद्योगभित्रैका व्यक्तिहरूलाई पनि सबै समूहको नाम र पहिचान सम्झन कठिन हुन्छ। यसको एउटा कारण हरेक कम्पनीले ह्याकिङ समूहलाई फरक तरिकाले नाम दिने गर्नु हो। त्यसैले साइबर सुरक्षा अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता, पत्रकार तथा सर्वसाधारणलाई कुन समूह कुन हो भन्ने बुझ्न सहयोग गर्ने स्रोतहरू उपलब्ध छन्।

गत महिना गुगल ह्याकिङ समूहका लागि प्रयोग गर्दै आएको नामकरण प्रणाली परिवर्तन गर्ने पछिल्लो कम्पनी बनेको छ।

टेकक्रञ्चका अनुसार अब ‘एपीटी१’, ‘एपीटी४१’ वा ‘एपीटी’पछि कुनै पनि नम्बर राख्ने पुरानो प्रणाली प्रयोग हुने छैन। यो प्रणाली पहिले स्वतन्त्र सुरक्षा कम्पनीका रूपमा रहेको र अहिले गुगलको हिस्सा बनेको म्यान्डियन्टले अपनाएको थियो। म्यान्डियन्ट ह्याकिङ समूहका लागि नामकरण प्रणाली प्रयोग गर्ने पहिलो कम्पनीमध्ये एक थियो।

अब गुगलको नयाँ प्रणाली तुलनात्मक रूपमा सरल छ। ह्याकिङ समूहको पहिलो नाम सम्झन सजिलो र अनियमित हुनेछ भने दोस्रो शब्दको सुरुआती अक्षरले समूहको उत्पत्तिको देश जनाउनेछ। उदाहरणका लागि चीनका लागि ‘क्यासल’, इरानका लागि ‘आयन’, उत्तर कोरियाका लागि ‘नेप्च्युन’ र रुसका लागि ‘रेलिक’ प्रयोग गरिनेछ।

गुगल थ्रेट इन्टेलिजेन्स ग्रुपका प्रमुख प्रविधि अधिकारी तथा कम्पनीको आन्तरिक ह्याकर खोज टोलीका प्रमुख शेन हन्टलीका अनुसार कम्पनीभित्र र बाहिरका सुरक्षा अनुसन्धानकर्तालाई स्पष्टता दिन नामकरण प्रणाली परिवर्तन आवश्यक भएको हो।

२०१० को सुरुआतमा कम्पनीहरूले साइबर आक्रमणसम्बन्धी रिपोर्ट सार्वजनिक गर्दै त्यसका पछाडि रहेका ह्याकरलाई नाम दिन थालेका बेला आजको जति धेरै खतरा समूह हुने अपेक्षा नगरेको हन्टलीले बताए।

समयसँगै सबै समूहको पहिचान र गतिविधि ट्र्याक गर्न कठिन हुँदै गएको थियो। गुगल थ्रेट इन्टेलिजेन्स ग्रुपका प्रमुख विश्लेषक जोन हल्टक्विस्टका अनुसार गुगलले अहिले विभिन्न देशमा ५ हजारभन्दा बढी ‘एक्टिभिटी क्लस्टर’ ट्र्याक गरिरहेको छ। हन्टलीका अनुसार आफ्नै साइबर क्षमता र ह्याकिङ समूह नभएका विकसित देश निकै कम छन्।

ह्याकिङ समूहलाई नाम दिनुको उद्देश्य केवल शैक्षिक अभ्यास नभएको हन्टलीले बताए। यसको उद्देश्य कसले कसलाई र कसरी आक्रमण गरिरहेको छ भन्नेबारे आधारभूत जानकारी तयार गर्नु हो। यसले संस्थाहरूलाई खतरा छिटो पहिचान गर्न, त्यसविरुद्ध तयारी गर्न, सम्भव भए आक्रमण रोक्न वा घटना भएमा छिटो अनुसन्धान गर्न सहयोग गर्छ।

हन्टलीका अनुसार ह्याकरलाई नाम दिएर निरन्तर ट्र्याक नगरेसम्म यस्तो काम सम्भव हुँदैन।

उनले कुनै समूहको आक्रमणमा परेमा वा साइबर घटनासँग जुध्नुपरेमा त्यस समूहको व्यवहार, गतिविधि र विगतका आक्रमणबारे जानकारी अत्यन्त महत्वपूर्ण हुने बताए। यसले घटनाको प्रतिक्रिया दिन र त्यस्ता खतराविरुद्ध संस्थाको सुरक्षा क्षमता मूल्यांकन गर्न सहयोग गर्छ।

उत्तर कोरियाली सरकारसँग सम्बन्धित ‘लाजरस ग्रुप’ले कसरी काम गर्छ, उसका सामान्य उद्देश्य के हुन् र उसले कसका लागि काम गर्छ भन्ने जानकारीले पनि सुरक्षा टोलीलाई त्यस्ता ह्याकरसँग जुध्न सुरुआती आधार प्रदान गर्छ।

सरकार समर्थित ह्याकरलाई ट्र्याक गर्नु चुनौतीपूर्ण भए पनि साइबर अपराधी समूह र ह्याकर भाडामा लिने समूहलाई ट्र्याक गर्नुभन्दा केही सहज हुने हन्टलीले बताए।

सरकारी ह्याकरका लक्ष्य र गतिविधि तुलनात्मक रूपमा स्थिर हुने गर्छन्। यसको विपरीत साइबर अपराधी समूहमा सदस्यहरू आउने–जाने, समूह विभाजन हुने र संरचना परिवर्तन हुने भएकाले उनीहरूलाई ट्र्याक गर्न कठिन हुन्छ।

ह्याकर भाडामा उपलब्ध गराउने समूह र स्पाइवेयर निर्माता कम्पनीका विश्वका विभिन्न भागमा धेरै ग्राहक हुने भएकाले उनीहरूलाई ट्र्याक गर्न पनि केही कठिन हुने हन्टलीले बताए।

नयाँ नामकरण प्रणाली घोषणा हुँदा एउटा सामान्य प्रश्न उठ्ने गर्छ—सबै कम्पनी र संस्थाले एउटै कोडनेम किन प्रयोग नगर्ने? तर हरेक कम्पनीले आफ्नै डेटा र टेलिमेट्रीका आधारमा ह्याकिङ समूहलाई फरक दृष्टिकोणबाट हेर्ने भएकाले एउटै नामकरण प्रणाली प्रयोग गर्न कठिन हुने हन्टलीले बताए।

उनका अनुसार कम्पनी र अनुसन्धानकर्ताबीच थप सूचना आदानप्रदान गरे पनि यो समस्या पूर्ण रूपमा समाधान हुन सक्दैन। कुनै पनि संस्थासँग सबै गतिविधिबारे पूर्ण जानकारी नहुने उनले बताए।

गुगलको पुरानो थ्रेट एनालिसिस ग्रुप, जसको नेतृत्व हन्टलीले गरेका थिए, र म्यान्डियन्टको नामकरण प्रणालीलाई एउटै प्रणालीमा एकीकृत गरिएपछि कम्तीमा सम्झनुपर्ने एउटा नामकरण प्रणाली घटेको छ।

 

प्रकाशित: २५ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार