काठमाडौं ।
ओपनएआईले च्याटजीपीटीका सबै प्रयोगकर्ताका लागि टेक्स्टमा आधारित च्याटको सीमा हटाउने भएको छ। च्याटजीपीटीले हालै साप्ताहिक १ अर्ब प्रयोगकर्ता पार गरेको कम्पनीले जनाएको छ।
नयाँ जीपीटी–५.६ लुना मोडलले यो सेवा सञ्चालन गर्नेछ। यो फ्री र गो प्रयोगकर्ताका लागि डिफल्ट मोडल हुनेछ र यसले जीपीटी–५.५ लाई प्रतिस्थापन गर्नेछ।
फ्री र गो प्रयोगकर्ताले नयाँ ‘थिंक’ बटन पनि पाउनेछन्। यसले जटिल प्रश्नका लागि बढी तर्क क्षमता प्रयोग गर्न मोडल छनोट गर्न सक्ने सुविधा दिनेछ। तर फाइल, तस्बिर, भ्वाइस र इमेज जेनेरेसनका लागि भने छुट्टै सीमा कायम रहने ओपनएआईले जनाएको छ।
टेकक्रञ्चका अनुसार प्लस र प्रो प्रयोगकर्ताका लागि पनि नयाँ परिवर्तन गरिएको छ। उनीहरूले अपग्रेड गरिएको जीपीटी–५.६ सोल मोडल प्रयोग गर्न पाउनेछन्। यो मोडल प्रश्नको उत्तर, वेब अनुसन्धान, सुझाव, योजना बनाउने, लेखन र निर्णय गर्नेजस्ता छिटो पूरा गर्नुपर्ने कामका लागि सुधार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ मोडलले अझ छोटा र बलिया उत्तर दिनेछ। यो कोडेक्स र वर्कमा प्रयोग हुने जीपीटी–५.६ सोलको छुट्टै संस्करण हो र त्यसमा कुनै परिवर्तन गरिएको छैन।
च्याटजीपीटी प्लस र प्रो प्रयोगकर्ताले ‘थिंकिङ स्लाइडर’ पनि पाउनेछन्। यसमार्फत प्रयोगकर्ताले कुनै प्रश्नको उत्तर दिन मोडलले कति सोच्ने भन्ने स्तर समायोजन गर्न सक्नेछन्। प्रश्नको जटिलता र समाधानका लागि आवश्यक चरणअनुसार थिंकिङको स्तर निर्धारण गर्न सकिनेछ।
ओपनएआईको आन्तरिक परीक्षणअनुसार जीपीटी–५.५ इन्स्टेन्टको तुलनामा जीपीटी–५.६ लुनामा तथ्यगत त्रुटि ६२ प्रतिशत कम देखिएको छ। जीपीटी–५.६ सोलमा भने यस्तो त्रुटि ६८ प्रतिशत कम भएको कम्पनीले जनाएको छ।
जीपीटी–५.६ सोलको अपडेट गरिएको संस्करण आजदेखि प्लस र प्रो प्रयोगकर्ताका लागि उपलब्ध भएको छ। फ्री र गो प्रयोगकर्ताका लागि अन्य परिवर्तनहरू यसै साता उपलब्ध हुनेछन्।
अर्को सातादेखि प्रयोगकर्ताले असीमित टेक्स्ट च्याट र जटिल प्रश्नका लागि नयाँ ‘थिंक’ बटन प्रयोग गर्न पाउनेछन्।
प्रकाशित: २३ श्रावण २०८३, शनिबार