काठमाडौं ।
टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङले कम्पनीका कर्मचारीलाई प्रतिस्पर्धी कम्पनीका एआई प्रणालीबाट डिस्टिलेसन गरेर आफ्ना एआई मोडल सुधार नगर्न निर्देशन दिएका छन्। चीनको सरकारी समर्थित सञ्चारमाध्यम द पेपरले बिहीबार यो जानकारी दिएको हो।
मोडल डिस्टिलेसन भन्नाले शक्तिशाली एआई प्रणालीले दिएको नतिजा प्रयोग गरेर सानो एआई मोडललाई प्रशिक्षण दिने वा सुधार गर्ने विधिलाई जनाउँछ। चीन र अमेरिकाबीच बढ्दो एआई प्रतिस्पर्धाका बीच यो प्रविधि विवादको विषय बनेको छ।
रिपोर्टका अनुसार झाङले हालै भएको आन्तरिक बैठकमा एआई विकासका लागि दीर्घकालीन सोच आवश्यक हुने र छोटो समयको उपलब्धिका लागि अरूको नतिजा प्रयोग गर्नु उचित नहुने बताएका थिए।
उनले बाइटडान्सको सिड एआई अनुसन्धान टोलीलाई दीर्घकालीन लक्ष्य हासिल गर्न कम्पनीले आवश्यक परे केही अल्पकालीन लाभ त्याग्न पनि तयार हुनुपर्ने बताएका थिए।
झाङका अनुसार एआई डिस्टिलेसनले दीर्घकालीन प्राविधिक नवप्रवर्तनमा बाधा पुर्याउँछ।
हाल चीनका एआई विकासकर्ताबीच कम लागतमा अझ शक्तिशाली एआई मोडल सार्वजनिक गर्ने तीव्र प्रतिस्पर्धा चलिरहेको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी सरकार र प्रमुख एआई कम्पनीहरूले चिनियाँ प्रतिस्पर्धीहरूले गोप्य एआई मोडलका क्षमता निकाल्न डिस्टिलेसन प्रविधि प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिनियाँ कम्पनीहरूलाई आर्थिक प्रतिबन्ध वा अमेरिकी व्यापार कालोसूचीमा राख्न सकिने चेतावनी दिएका छन्। त्यसको जवाफमा चीनले अमेरिकामाथि “एआई वर्चस्ववाद” अपनाएको आरोप लगाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ।
प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार