मेटाले सार्वजनिक गर्यो म्युज स्पार्क १.२ मा आधारित कोडिङ टुल ‘म्युज कोड’

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
मेटाले सार्वजनिक गर्यो म्युज स्पार्क १.२ मा आधारित कोडिङ टुल ‘म्युज कोड’

काठमाडौं ।

मेटा प्लेटफर्म्सले बुधबार आफ्नो नयाँ एआई मोडेल म्युज स्पार्क १.२ मा आधारित कोडिङ टुल ‘म्युज कोड’ सार्वजनिक गरेको छ। यो टुल विकासकर्ताहरूलाई सफ्टवेयर लेख्न र त्रुटि (डिबग) सुधार गर्न सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो।

यो सार्वजनिकसँगै सामाजिक सञ्जाल कम्पनी मेटाले एआईमा आधारित कोडिङ टुलको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप विस्तार गरेको छ। यस क्षेत्रमा कम्पनीले एन्थ्रोपिकको क्लाउड र ओपनएआईको कोडेक्ससँग प्रतिस्पर्धा गरिरहेको छ। एआई सहायक सेवाबाट आम्दानी गर्ने होड पनि तीव्र बन्दै गएको छ।

कम्पनीका अनुसार म्युज कोडले कोड लेख्न र त्यसको नतिजा प्रमाणित गर्न सक्छ। यसलाई लामो र जटिल कोडिङ परियोजनाहरू सम्हाल्न सक्षम बनाइएको छ। साथै कठिन कार्य छिटो सम्पन्न गर्न यसले एकै समयमा धेरै उप-एजेण्ट सञ्चालन गर्न सक्छ।

मेटाले म्युज स्पार्क १.२ र म्युज कोडलाई एकअर्कासँग सहज रूपमा काम गर्ने गरी संयुक्तरूपमा प्रशिक्षण दिइएको पनि जनाएको छ।

रोयटर्सका अनुसार बिटा संस्करणमा सार्वजनिक गरिएको म्युज कोडले आफूले गरेका कार्यहरूको रेकर्ड राख्छ। त्यसैले प्रणाली बन्द वा क्र्यास भएमा सुरुबाट फेरि काम गर्नुपर्ने अवस्था नआई जहाँबाट रोकिएको थियो त्यहीँबाट काम अघि बढाउन सकिन्छ।

विकासकर्ताहरूले ‘पे-एज-यू-गो’ योजनामार्फत म्युज कोड प्रयोग गर्न सक्नेछन्। यसको स्ट्यान्डर्ड योजनामा प्रति १० लाख इनपुट टोकनका लागि १.२५ अमेरिकी डलर र प्रति १० लाख आउटपुट टोकनका लागि ४.२५ अमेरिकी डलर शुल्क तोकिएको छ।

यो सार्वजनिक हुनुभन्दा करिब एक महिना अघि मेटाले विकासकर्ताको परीक्षणका लागि म्युज स्पार्क १.१ सार्वजनिक गरेको थियो। अघिल्लो मोडेललाई कठिन कोडिङ चुनौतीहरू तयार गर्न र मूल्याङ्कन गर्न प्रयोग गरिएको थियो, जसले म्युज स्पार्क १.२ को जटिल निर्देशन पालना गर्ने क्षमता सुधार गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...