काठमाडौं ।
आजकल हामीहरु स्मार्टफोनसँग सधैं जोडिएकै हुन्छौं। त्यसैले फोन चार्जमा राखेको बेला पनि सामाजिक सञ्जाल चलाउने, भिडियो हेर्ने वा अन्य काम गर्ने बानी सामान्य भइसकेको छ। तर धेरैलाई यस्तो गर्दा फोनको ब्याट्रीको आयु घट्छ कि भन्ने जिज्ञासा हुन्छ।
यसको छोटो उत्तर हो– हुँदैन।
फोन चार्ज भइरहेको बेला प्रयोग गर्दा सामान्य अवस्थामा ब्याट्रीको आयुमा असर पर्दैन। यद्यपि, फोन प्रयोग गरिरहेमा चार्ज हुने गति केही कम हुन सक्छ। यसको मुख्य कारण आधुनिक स्मार्टफोनमा प्रयोग हुने बाइपास चार्जिङ र ताप व्यवस्थापन प्रविधि हो।
बाइपास चार्जिङ प्रविधिले फोन चार्जमा जोडिएको अवस्थामा प्रयोग भइरहेमा ब्याट्री चार्ज गर्ने प्रक्रियालाई केही समय रोक्दै आएको विद्युत् सिधै फोन सञ्चालनमा प्रयोग गर्छ। यसले विशेषगरी गेम खेल्ने वा भिडियो सम्पादनजस्ता धेरै शक्ति चाहिने काम गर्दा ब्याट्री अत्यधिक तात्नबाट जोगाउन मद्दत गर्छ।
यसको असर भने चार्जिङ गतिमा देखिन्छ। यदि गेम खेल्दै वा भिडियो सम्पादन गर्दै फोन चार्ज गरियो भने चार्जरबाट आएको धेरैजसो ऊर्जा फोन सञ्चालनमै खर्च हुने भएकाले पछि चार्ज हटाउँदा ब्याट्रीको प्रतिशत खासै बढेको नदेखिन सक्छ।
सन् २०२० मा सोनी एक्सपेरिया १ II मा पहिलो पटक हीट सप्रेसन पावर कन्ट्रोल नामबाट यस्तो सुविधा सार्वजनिक गरिएको थियो। अहिले सामसुङ, गुगल, सियाओमी, जेडटीईलगायत धेरै कम्पनीका स्मार्टफोनमा बाइपास चार्जिङ उपलब्ध छ।
तर एप्पलका आईफोनमा भने हालसम्म यो सुविधा उपलब्ध छैन। यद्यपि, आईफोनमा पनि चार्ज गर्दा प्रयोग गर्दा ब्याट्री बिग्रने होइन, केवल चार्ज हुन केही बढी समय लाग्न सक्छ।
यदि फोन अत्यधिक तात्न थालेमा भने प्रयोग रोक्नु उपयुक्त हुन्छ। अत्यधिक तापले ब्याट्रीमा असर गर्न सक्छ। आधुनिक स्मार्टफोनमा ताप नियन्त्रणका लागि उन्नत ब्याट्री व्यवस्थापन प्रणाली भएकाले सामान्य प्रयोगमा यस्तो समस्या कम हुन्छ।
त्यसैले चार्ज भइरहेको बेला सन्देश हेर्न, फोन गर्न, फोटो खिच्न वा छोटो समयका लागि फोन प्रयोग गर्न कुनै समस्या हुँदैन। तर लामो समयसम्म गेम खेल्ने वा अन्य धेरै शक्ति चाहिने काम गर्दा चार्जिङ गति घट्ने भएकाले सम्भव भएसम्म त्यस्तो प्रयोग सीमित गर्नु राम्रो हुन्छ।
फोन चार्जिङसँग सम्बन्धित अन्य धेरै भ्रम पनि छन्। उदाहरणका लागि, रातभर फोन चार्जमा राख्दा ब्याट्री बिग्रन्छ भन्ने धारणा सही होइन। अहिलेका अधिकांश स्मार्टफोनमा ब्याट्री १०० प्रतिशत पुगेपछि स्वतः चार्ज बन्द हुने सुरक्षा प्रणाली हुन्छ। धेरै फोनमा प्रयोगकर्ताको बानीअनुसार अप्टिमाइज्ड चार्जिङ सुविधा पनि हुन्छ, जसले ब्याट्रीको स्वास्थ्य जोगाउँदै आवश्यक समयमा मात्र १०० प्रतिशतसम्म चार्ज पूरा गर्छ।
यस्तै, फोनको ब्याट्री पूर्ण रूपमा सकिएपछि मात्र चार्ज गर्नुपर्छ भन्ने धारणा पनि गलत हो। ब्याट्रीको आयु राम्रो राख्न २० देखि ८० प्रतिशतको बीचमा चार्ज गर्नु बढी उपयुक्त मानिन्छ।
समग्रमा, चार्ज गर्दा फोन प्रयोग गर्नु आफैंमा ब्याट्रीका लागि हानिकारक होइन। तर त्यसो गर्दा फोन ढिलो चार्ज हुन्छ र अत्यधिक तात्ने अवस्था आएमा प्रयोग रोक्नु राम्रो हुन्छ।-एजेन्सी
प्रकाशित: २० श्रावण २०८३, बुधबार