काठमाडौं ।
दक्षिण अफ्रिकाले सीमापार हुने क्रिप्टोकरेन्सी कारोबारलाई नियमन गर्ने उद्देश्यले नयाँ मस्यौदा निर्देशिका सार्वजनिक गरेको छ। यसले पहिलो पटक कुन अवस्थामा सीमापार क्रिप्टो स्थानान्तरण नियमन र अनिवार्य रूपमा जानकारी दिनुपर्ने कारोबार हुन्छ भन्ने स्पष्ट गरेको हो।
राष्ट्रिय कोष मन्त्रालय र दक्षिण अफ्रिकी रिजर्भ बैंकले संयुक्त रूपमा सार्वजनिक गरेको ‘क्रिप्टो एसेट म्यानुअल’ मस्यौदा अप्रिलमा प्रस्ताव गरिएको पूँजी प्रवाहसम्बन्धी नियम संशोधनको निरन्तरता हो।
दक्षिण अफ्रिकामा क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गइरहेको समयमा यो कदम चालिएको हो। ब्लकचेन विश्लेषण कम्पनी चेनालाइसिसका अनुसार त्यहाँ पहिले नै सयौं भर्चुअल एसेट सेवा प्रदायकले इजाजतपत्र प्राप्त गरिसकेका छन्। प्रमुख बैंकहरूले पनि संस्थागत ग्राहकका लागि क्रिप्टोसम्बन्धी सेवा विकास गर्ने अन्तिम चरणमा काम गरिरहेका रोयटर्सले उल्लेख गरेको छ।
नयाँ प्रस्तावअनुसार विदेशमा क्रिप्टो पठाउन चाहनेले अधिकृत सेवा प्रदायकमार्फत मात्र कारोबार गर्नुपर्नेछ। त्यस्ता कारोबारको विवरण रिजर्भ बैंकको वित्तीय निगरानी विभाग (फिनसर्भ) लाई जानकारी गराइनेछ।
यी नियमको उद्देश्य क्रिप्टो सम्पत्तिलाई विद्यमान वित्तीय नियन्त्रण छल्ने माध्यमका रूपमा प्रयोग हुन नदिनु तथा अवैध वित्तीय कारोबार पत्ता लगाएर रोक्नु रहेको छ।
प्रस्तावित नियमअनुसार स्थानीय अधिकृत क्रिप्टो एसेट सेवा प्रदायकबाट विदेशी सेवा प्रदायक वा व्यक्तिगत, गैर–कस्टोडियल वालेटमा क्रिप्टो स्थानान्तरण भएमा मात्र त्यसलाई सीमापार कारोबार मानिनेछ।
स्थानीय सेवा प्रदायकमार्फत दक्षिण अफ्रिकी मुद्रा र्यान्डमा क्रिप्टो किनबेच गर्दा भने यस्तो कारोबारको जानकारी दिनुपर्ने छैन।
हालका लागि व्यक्तिहरूलाई मात्र आफ्नो विद्यमान विदेशी मुद्रा सीमाभित्र रहेर क्रिप्टो सम्पत्ति विदेश पठाउन अनुमति दिइने प्रस्ताव गरिएको छ।
दक्षिण अफ्रिकी रिजर्भ बैंकले यो व्यवस्थाले क्रिप्टोकरेन्सीलाई कानुनी मुद्रा (लिगल टेन्डर) को मान्यता नदिएको र विभिन्न प्रकारका क्रिप्टो सम्पत्तिबीचको भिन्नताबारे अध्ययन अझै जारी रहेको जनाएको छ।
यस मस्यौदामाथि इच्छुक पक्षहरूले सेप्टेम्बर ३० सम्म सुझाव पेश गर्न सक्नेछन्।
प्रकाशित: २० श्रावण २०८३, बुधबार