‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन

  • Technology Khabar | १७ श्रावण २०८३, आईतवार
‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन
काठमाडौँ, १७ साउनः काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा आइतबार यहाँ आयोजित ३० दिने ‘फोटोग्राफी तथा फोटो भिडियो पत्रकारिता तालिम’ समापन कार्यक्रममा प्रमुख प्रशिक्षक र प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरणपश्चात् सामूहिक तस्बिरमा कार्यवाहक महानगरपालिकाका प्रमुख सुनिता डङ्गोल साथमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डीसी’ । प्रदीपराज वन्त÷रासस

काठमाडौं ।

काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ।

समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन्।

कार्यवाहक प्रमुख डङ्गोलले सीपमूलक तालिमले युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन्। काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गर्दै युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौँ महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचारप्रसारमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन।

पैँतिस प्रशिक्षार्थी सहभागी तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले दक्ष जनशक्ति उत्पादनबाट चलचित्र निर्माण, प्रचारप्रसार तथा अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुलकुमार श्रेष्ठ र वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु ३५ हजार राशिसति  सम्मान पुरस्कार प्रदान गरिएको थियो । तालिममा फोटोग्राफी, फोटो-भिडियो पत्रकारिता, क्यामरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । रासस

प्रकाशित: १७ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार