काठमाडौं ।
माइक्रोसफ्टले यसै वर्ष च्याट, कोडिङ, कोवर्क र नयाँ स्वायत्त अटोपाइलट सुविधालाई एउटै प्लेटफर्ममा समेट्ने कोपाइलट एआई “सुपर एप” सार्वजनिक गर्ने तयारी गरेको छ। यो एप उपभोक्ता र व्यवसाय दुवैका लागि उपलब्ध हुनेछ।
यो जानकारी माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले कम्पनीको पछिल्लो त्रैमासिक आम्दानी सार्वजनिक गर्ने कार्यक्रममा दिएका हुन्।
जीएसएमएरिनाका अनुसार माइक्रोसफ्ट एआई “सुपर एप” विकास गर्ने प्रतिस्पर्धामा सहभागी हुने पछिल्लो कम्पनी बनेको छ। यस्ता एपहरूले च्याट, कोडिङ र एआई एजेन्टजस्ता सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्य राख्छन्। ओपनएआईले च्याटजीपीटी वर्क र एन्थ्रोपिकले आफ्नो च्याटबोटमा कोवर्क सुविधा उपलब्ध गराइसकेका छन्।
यसको उद्देश्य प्रयोगकर्ताले केवल च्याट वा केवल कोडिङका लागि नभई विभिन्न काम एउटै एपमार्फत गर्न सकून् भन्ने हो। यस्तो रणनीति विशेष गरी ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीका लागि महत्त्वपूर्ण मानिएको छ, किनकि ती कम्पनीहरूले भविष्यमा हुने आफ्नो प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) सफल बनाउन प्रयास गरिरहेका छन्।
माइक्रोसफ्टसँग यस क्षेत्रमा लगानी गर्न पर्याप्त स्रोत भए पनि यसको सशुल्क कोपाइलट सदस्य संख्या च्याटजीपीटीभन्दा निकै कम छ। हाल माइक्रोसफ्टका ४५ करोड व्यवसायिक प्रयोगकर्तामध्ये करिब ३ करोडले सशुल्क कोपाइलट सदस्यता लिएका छन्।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार