काठमाडौं ।
चिनियाँ सैन्य अनुसन्धानकर्ताले चीनको रक्षा क्षमता बढाउन घरेलु कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई तालिम दिन ओपनएआई र एन्थ्रोपिकले विकास गरेका प्रमुख अमेरिकी एआई मोडेलबाट प्राप्त नतिजा प्रयोग गरेको रोयटर्सले ८० भन्दा बढी चिनियाँ अनुसन्धान पत्र र पेटेन्टको समीक्षा पछि जनाएको छ।
यसअघि सार्वजनिक नभएको यो जानकारीले वासिङ्टनले बेइजिङको उन्नत चिप र अन्य रणनीतिक प्रविधिमा पहुँच सीमित गर्ने प्रयास गरिरहेका बेला चीनका सेना र सुरक्षा निकायसँग सम्बन्धित संस्थाहरूले आफ्नै विशेष एआई प्रणाली विकास गर्न अमेरिकी अत्याधुनिक एआई मोडेललाई कसरी छोटो बाटोका रूपमा प्रयोग गरिरहेका छन् भन्ने दुर्लभ झलक दिएको छ।
विवादको मुख्य विषय ‘डिस्टिलेसन’ प्रविधि होइन, त्यसका लागि अनुमति बिना एआई मोडेलबाट जानकारी निकालिएको आरोप हो। ‘डिस्टिलेसन’ भने एआई उद्योगमा व्यापक रूपमा प्रयोग हुने विधि हो।
रोयटर्सका अनुसार यो विषय अमेरिका–चीनबीच हुने एआई सुशासन र सुरक्षासम्बन्धी वार्ताअघि प्रमुख विवादको विषय बनेको छ। अमेरिकी अधिकारीहरूले केही चिनियाँ संस्थाले अमेरिकी एआई मोडेलको क्षमता निकाल्न ‘डिस्टिलेसन’ प्रयोग गरेको, जसले निर्यात नियन्त्रण कमजोर पार्न सक्ने र बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घन हुन सक्ने आरोप लगाएका छन्।
चीनले यी आरोप अस्वीकार गर्दै वासिङ्टनले एआई क्षेत्रमा “एकाधिकार कायम गर्न खोजेको” बताएको छ। साथै, अमेरिकी कम्पनीहरूले पनि यस्तै अभ्यास गरेको दाबी गरेको छ।
चिनियाँ एआई विकासकर्ताले पनि आफ्ना उपलब्धि विदेशी मोडेलमा निर्भर रहेको आरोप अस्वीकार गरेका छन्। एआई स्टार्टअप मुनसटले गत साता ट्रम्प प्रशासनले आफ्नो ‘किमी के३’ मोडेल डिस्टिलेसनमार्फत बनाइएको भन्ने आरोप अस्वीकार गर्दै यो आफ्नै प्रविधिमा आधारित रहेको जनाएको थियो।
६० भन्दा बढी अनुसन्धान पत्रको अध्ययन गरेका जेम्सटाउन फाउन्डेसनका अनुसन्धानकर्ता सन्नी चेउङका अनुसार चिनियाँ सैन्य वैज्ञानिकहरूले पश्चिमी एआई मोडेलको सोच्ने र तर्क गर्ने प्रक्रिया व्यवस्थित रूपमा सङ्कलन गरी निगरानी, साइबर युद्ध र रणनीतिक निर्णय प्रणालीमा प्रयोग गर्न खोजिरहेका छन्।
“मोडेललाई सही उत्तर सिकाउनु एउटा कुरा हो, तर उत्तर किन सही हो भन्ने तर्क सिकाउनु धेरै कठिन हुन्छ,” चेउङले भने।
“यी अनुसन्धानले चिनियाँ सैन्यसँग सम्बन्धित अनुसन्धानकर्ताले पश्चिमी मोडेलको महँगो र स्वामित्वयुक्त तर्क प्रणालीलाई साना घरेलु मोडेलमा सारेर आफूले नियन्त्रण गर्न सक्ने र स्थानीय रूपमा प्रयोग गर्न सक्ने प्रणाली बनाउन खोजिरहेको देखाउँछन्,” उनले थपे।
रोयटर्सले ती अनुसन्धान सामग्रीको पुष्टि गर्दै सेनासँग सम्बन्धित थप दुई दर्जनभन्दा बढी उदाहरण पनि पहिचान गरेको छ।
गत वर्ष बेइजिङस्थित पीएलए युनिट ९६९४१ का अनुसन्धानकर्ताले प्रकाशित गरेको एक अनुसन्धान पत्रमा संवेदनशील सैन्य स्रोतकोड प्रशोधन गर्न ओपनएआईको जीपीटी–३.५ प्रयोग गरिएको उल्लेख छ।
अनुसन्धानकर्ताले गोप्य जानकारीका लागि बाह्य एआई मोडेल उपयुक्त नभएको बताएका छन्। त्यसको समाधानका रूपमा उनीहरूले जीपीटी–३.५ प्रयोग गरेर सफ्टवेयरको स्रोतकोडको सारांश तयार पारे र ती सारांशका आधारमा घरेलु एआई मोडेललाई तालिम दिए, जसलाई चिनियाँ सैन्य सञ्जालभित्र मात्र सञ्चालन गर्न सकिने बनाइएको थियो।
यस विषयमा ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय, चीनको विदेश मन्त्रालय, पीएलए र ओपनएआईले कुनै प्रतिक्रिया दिएका छैनन्।
रोयटर्स र जेम्सटाउनको समीक्षा अनुसार चिनियाँ अनुसन्धानकर्ताले ‘डिस्टिलेसन’ प्रविधि सामग्री निगरानीदेखि सैन्य प्रयोगसम्म विभिन्न क्षेत्रमा प्रयोग गरेका छन्।
चीनको हतियार उद्योगसँग निकट सम्बन्ध रहेको नर्थ युनिभर्सिटी अफ चाइनाका अनुसन्धानकर्ताले सामाजिक सञ्जालको निगरानी र सामग्री व्यवस्थापनका लागि पाठ वर्गीकरण गर्ने मोडेल तयार गर्न एन्थ्रोपिकको क्लड ३ हाइकु प्रयोग गरेर कृत्रिम तालिम सामग्री तयार गरेका थिए।
एन्थ्रोपिकले आफूले चीन वा बेइजिङको नियन्त्रणमा रहेका कम्पनीलाई क्लोडको व्यावसायिक पहुँच नदिएको र नीति उल्लङ्घन पत्ता लगाउन निगरानी प्रणाली प्रयोग गरिरहेको जनाएको छ।
कम्पनीले डिस्टिलेसनबाट बनाइएका मोडेलले मूल एआई प्रणालीका सुरक्षा व्यवस्था गुमाउन सक्ने र त्यसबाट संवेदनशील क्षमता आफ्नो नियन्त्रणबाहिरका मोडेलमा पुग्न सक्ने चेतावनी पनि दिएको छ।
पीएलएको नेसनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीले सन् २०२४ मा प्रकाशित गरेको अनुसन्धानमा मानवरहित हवाई साधन (ड्रोन) मा प्रयोग गर्न मिल्ने गरी तस्बिर प्रशोधन गर्ने एआई मोडेललाई सानो बनाइएको उल्लेख छ। यसले सञ्चार सम्पर्क टुटे पनि ड्रोनले प्रत्यक्ष भिडियो विश्लेषण गरेर मार्गनिर्देशन र लक्ष्य निर्धारणमा सहयोग गर्न सक्ने बताइएको छ।
यसैगरी, यस वर्ष प्रकाशित अर्को अध्ययनमा चीनको एकेडेमी अफ मिलिटरी साइन्सेसका अनुसन्धानकर्ताले ड्रोन, जहाज र मानवरहित पनडुब्बी सहभागी समुद्री अभ्यासका क्रममा रणनीतिक उपकरणमा लक्ष्य पहिचान गर्ने एआई मोडेल सञ्चालन गर्न ‘डिस्टिलेसन’ प्रविधि प्रयोग गरेको उल्लेख गरिएको छ।
प्रकाशित: १७ श्रावण २०८३, आईतवार