काठमाडौं ।
एक्सएआईले दायर गरेको मुद्दाका बाबजुद पनि प्रयोगकर्ताले तस्बिरलाई कृत्रिम रूपमा निर्वस्त्रजस्तो देखाउन मिल्ने ‘न्युडिफाइ’ एपमाथि मिनेसोटाले लगाएको प्रतिबन्ध लागू गर्न सक्ने भएको छ। यो जानकारी एनबीसी न्युजले दिएको हो।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश डोनोभन फ्र्याङ्कको निर्णयमा कानुनको विषयभन्दा पनि एक्सएआईले मुद्दा दायर गरेको समयलाई बढी महत्व दिइएको छ।
फ्र्याङ्कले आफ्नो निर्णयमा एक्सएआईले अस्थायी रोक आदेशको माग “सन् २०२६ जुलाई २९ मा, कानुन पारित भएको करिब तीन महिनापछि र कानुन अगस्ट १ देखि लागू हुन तीन दिन मात्र बाँकी हुँदा” दायर गरेको उल्लेख गरेका छन्।
“यति ढिलो गरेर मुद्दा र निवेदन दायर गर्नुले क्षति तत्काल हुने अवस्था छैन भन्ने देखाउँछ,” फ्र्याङ्कले भने।
टेकक्रञ्चका अनुसार यसको अर्थ एक्सएआईले दायर गरेको मुद्दा समाप्त भएको भने होइन। यसको अर्थ मुद्दाको सुनुवाइ जारी रहँदासम्म उक्त कानुन लागू गर्न मिल्ने भएको हो। मुद्दामा एक्सएआईले अमेरिकामा पहिलो पटक लागू गरिएको यो प्रतिबन्ध “अत्यधिक व्यापक” रहेको र “उही उद्देश्य हासिल गर्न कम कडा विकल्पहरू पनि उपलब्ध रहेको” दाबी गरेको छ।
यस वर्षको सुरुमा इलोन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सका प्रयोगकर्ताले एक्सएआईको ग्रोक च्याटबोट प्रयोग गरेर व्यक्तिको सहमतिबिना यौनजन्य बनाइएका तस्बिरहरू ठूलो मात्रामा साझा गरेका थिए। त्यसपछि यस विषयमा अनुसन्धान सुरु भएको थियो र केही प्रतिबन्धहरू पनि लगाइएका थिए।
प्रकाशित: १८ श्रावण २०८३, सोमबार