अनरले सार्वजनिक गर्यो आफ्नो आउँदै गरेको ‘रोबोट फोन’ को क्यामरा प्रणालीबारे नयाँ विवरण

  • Technology Khabar | १६ श्रावण २०८३, शनिबार
अनरले सार्वजनिक गर्यो आफ्नो आउँदै गरेको ‘रोबोट फोन’ को क्यामरा प्रणालीबारे नयाँ विवरण

काठमाडौं ।

चिनियाँ कम्पनी अनरले आफ्नो आगामी ‘रोबोट फोन’ को क्यामेरा प्रणालीबारे नयाँ विवरण सार्वजनिक गरेको छ। हटाउन मिल्ने संयन्त्रमा जडान गरिएको क्यामारा समावेश गरिएको यो फोनले फरक अवधारणा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ, जुन मेकानिकल गिम्बल स्टाबिलाइजरमा जडान हुनेछ। यसले वस्तु वा व्यक्तिलाई स्वचालित रूपमा पछ्याउने र क्यामाराको चाल नियन्त्रण गर्ने सुविधा दिनेछ।

यो प्रणालीले फोटो र भिडियोका लागि अझ उन्नत स्थिरता प्रदान गर्दै व्यावसायिक क्यामेरासँग मिल्दोजुल्दो अनुभव दिने कम्पनीको दाबी छ।
मुख्य क्यामेरासँगै फोनमा २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामेरा र ५० मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा पनि रहने अपेक्षा गरिएको छ।

टेलिग्राफका अनुसार यसमा विषयवस्तु पहिचान गरी पछ्याउने, भिडियो स्थिर बनाउने तथा गतिशील तस्बिर सिर्जना गर्न सहयोग गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) सुविधा पनि उपलब्ध हुने बताइएको छ।

अनरले जर्मनीको सिनेमाटोग्राफी क्यामेरा प्रविधि कम्पनी एआरआरआई सँग सहकार्य गरेको छ। यस सहकार्यमार्फत फोनमा व्यावसायिक स्तरको भिडियो रेकर्डिङ तथा कलर प्रोसेसिङ प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।

रोबोट फोन स्मार्टफोन, कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सका तत्वलाई एकैसाथ समेट्ने अनरको प्रयासको हिस्सा हो। यसमा रहेको चलायमान क्यामेराले प्रयोगकर्ताको गतिविधिअनुसार प्रतिक्रिया दिने, दृश्यलाई स्वचालित रूपमा पछ्याउने तथा थप गतिशील फोटोग्राफी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १६ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार