काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल प्रयोग गरेबापतको लामो समयदेखि बाँकी पोल भाडा भुक्तानी प्रक्रिया इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीबाट सुरु भएको छ।
प्राधिकरणको पोल भाडा बक्यौता तिर्ने प्रक्रियामा वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले पहिलो कदम अघि बढाएको हो।
वर्ल्डलिङ्कले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको रकम भुक्तानी गर्न थालेको हो।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को पोल भाडाको हकमा पोल तथा डीबी बक्सको संयुक्त प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि दोहोरो रूपमा भएको भुक्तानीसमेत समायोजन गरेर बाँकी रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच पोल भाडा निर्धारण तथा बक्यौता असुलीको विषय विवादमा रहँदै आएको थियो। पछिल्लो भुक्तानीसँगै बक्यौता असुली प्रक्रियाले औपचारिक रूपमा गति लिने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै बुझाउनु दायित्व भएको बताएका छन्। उनले वर्ल्डलिङ्कबाट सुरु भएको भुक्तानीलाई सकारात्मक सुरुआतका रूपमा उल्लेख गर्दै अन्य सेवा प्रदायकले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।
मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका छन्। कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या कानुनी सीमाभित्र रहेर समाधान गरिने उनको भनाइ छ।
उनले कानुन कार्यान्वयनको विषयलाई अनावश्यक राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबै सेवा प्रदायकका हकमा समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको स्पष्ट पारेका छन्।
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार