काठमाडौं ।
यातायात व्यवस्था विभागले विभिन्न प्राविधिक समस्याका कारण विगत चार वर्षदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम तीव्र रुपमा अघि बढाएको जनाएको छ।
विभागले छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा स्रोतगत समस्याका कारण रोकिएका लाइसेन्स छपाइका लागि सुरक्षा मुद्रण केन्द्रसँग भएको सम्झौताअनुसार काम अघि बढाएको जनाएको हो।
विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै सवारी चालक अनुमतिपत्रको छपाइ सम्पन्न गरी २०८३ असोज ७ गतेसम्म २७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको छ।
विभागले अधिकतम एक वर्षभन्दा कम अवधिका लाइसेन्स छपाइ नभएको र नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त गर्न सकिने भएकाले एक वर्षभन्दा कम अवधिको लाइसेन्स भएका सेवाग्राहीलाई सम्बन्धित यातायात कार्यालयमा गई नवीकरण गर्नसमेत अनुरोध गरेको छ।
लाइसेन्स छपाइ तथा वितरणमा भएको ढिलाइका कारण सेवाग्राहीमा परेको असुविधाप्रति विभागले क्षमा माग्दै धैर्य गरिदिन आग्रह गरेको छ।
विभागका अनुसार आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्र नम्बरमा रहेको विवरण प्रणालीमार्फत प्राप्त गर्न र राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ।
सवारी चालक अनुमति पत्रमा भएका विवरणगत त्रुटि सच्याउने तथा लाइसेन्स छपाइ र वितरणसम्बन्धी काम सम्बन्धित कार्यालयबाट तत्काल हुने व्यवस्था पनि मिलाइएको विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि भने द्रुत छपाइ र कार्ड वितरणसम्बन्धी सेवाका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ।
प्रकाशित: १४ श्रावण २०८३, बिहीबार