काठमाडौं ।
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिता विपरीत सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यम र सामाजिक सञ्जालको नियमित अनुगमन भइरहेको उल्लेख गर्दै हालै सुनसरीलगायतका पूर्वी जिल्लामा भएका दुःखद तथा संवेदनशील घटनासम्बन्धी सामग्रीको पनि समीक्षा गरिएको जानकारी दिएको छ।
अनुगमनका क्रममा धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने, हिंसा वा अपराधलाई प्रश्रय दिने, उत्तेजना फैलाउने, भ्रमपूर्ण वा अफवाहयुक्त सामग्री सम्प्रेषण भएको भेटिएको काउन्सिलले जनाएको छ।
यसै क्रममा, १५ वटा मिडियालाई टेलिफोनमार्फत सामग्री हटाउन निर्देशन दिइएको छ। तीमध्ये ७ वटा मिडियाले निर्देशन पालना गरी सामग्री हटाएको जानकारी दिएका छन् भने बाँकी ८ वटा मिडियालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ।
मिडियाबाहिरका ६ वटा सामाजिक सञ्जाल (५ फेसबुक पेज र १ युट्युब च्यानल) मा प्रकाशित ८ वटा गम्भीर प्रकृतिका सामग्रीबारे अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले पत्रकारिताको मूल धर्म र मर्यादाविपरीत, समाजमा तनाव र उत्तेजना फैलाउने खालका सामग्री सम्प्रेषण नगर्न सबै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई हार्दिक अपिल गरेको छ।
प्रकाशित: १३ श्रावण २०८३, बुधबार