काठमाडौं ।
ह्वाट्सएप ग्रुपमा एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न भएको आरोपमा थप दुई जना पक्राऊ परेका छन्।
शिक्षा ऐन, २०२८ अन्तर्गतको (प्रश्न पत्रको गोपनियता भङ्ग गरेको) कसूर मा २५ वर्षका अतुल कुमार मिश्र र ३१ वर्षका अब्दुल सानि हाकिमलाई पक्राऊ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।
मिश्रलाई काठमाडौं महानगरपालिका, वडा नं. १३, ताहाचलबाट प्रकाउ गरिएको हो भने अब्दुल सानि हाकिमलाई वीरगंज महानगरपालिका, वडा नं.८ बाट प्रक्राउ गरिएको हो।
गत साउन ८ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरिएको थियो।
हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भएको थियो।
शिक्षा मन्त्रालयको तत्काल पहलमा सुलभ सर भनिने सन्दिप सिंहलाई प्रहरीले २४ घण्टाभित्रै पक्राऊ गर्यो। सोही घटनामा संलग्न देखिएका थप दुई संदिग्धलाई आज पक्राऊ गरिएको हो।
यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि शिक्षामन्त्री पोखरेलको निर्देशनमा घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।
समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार