वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवालसहित पाँचजना दक्षिण एसियाका अग्रणी इन्टरनेट इनेबलर्स अवार्डबाट सम्मानित

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवालसहित पाँचजना दक्षिण एसियाका अग्रणी इन्टरनेट इनेबलर्स अवार्डबाट सम्मानित

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक दिलीप अग्रवालसहित दक्षिण एसियाली देशका पाँच इन्टरनेट अग्रणीहरूलाई “इन्टरनेट इनेब्लर”को रुपमा सम्मानित गरिएको छ।

काठमाडौंमा जारी ४४ औं दक्षिण एसियाली नेटवर्क अपरेटर समूह (सानोग) सम्मेलनको अवसर पारेर दक्षिण एसियाली देशका पाँच इन्टरनेट अग्रणीहरूलाई इन्टरनेट पहुँच विस्तार गर्न र यस क्षेत्रमा व्यावसायिक इन्टरनेट सेवाहरू विकास गर्न योगदान पुर्याएकोमा सम्मानित गरिएको हो। आइतबार सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरु सम्मानित भएका हुन्।

इन्टरनेट सक्षमकर्ता पुरस्कार नेपालबाट दिलीप अग्रवाल, भारतबाट नीरज सोनकर र सुचित नन्द, पाकिस्तानबाट तारिक मुस्तफा, बंगलादेशबाट सुमोन अहमद साबिर, र भुटानबाट जिचेन थिन्लेलाई यस क्षेत्रको डिजिटल परिदृश्यलाई आकार दिन भूमिका खेलेकोमा सम्मान गरिएको थियो।

वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवाललाई कम्पनीलाई डायल-अप इन्टरनेट सेवा प्रदायकबाट देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकमा रूपान्तरण गरेको र नेपालका दुर्गम क्षेत्रहरू सहित, ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तार गरेकोमा सम्मान गरिएको थियो।

नेपालको पहिलो इन्टरनेट इनेबलर्स अवार्ड पाएका अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको सुरुवात गरेका थिए। छोटो समयमै उनले कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गरेका छन्।

आज वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ र नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको छ।

इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रुपमा सम्मानित गरिसकेको छ। उपाध्याय सानोगका संस्थापक हुन्।

भारतका निरज सोनकरले सन् १९९५ मा भिएसएनएलमार्फत प्रथम व्यावसायिक इन्टरनेट सेवा जिआइएएस सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतकै सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टममार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चार परिचित गराएका थिए।

त्यसैगरी बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकासलगायत तीन दशक लामो योगदानका कारण सम्मानित गरिएको हो। भुटानका थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क बिस्तारमा गरेको दीर्घकालीन योगदानका निम्ति सम्मान दिइएको विज्ञप्तिमा जनाइएको छ।

इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार, यी अभियन्ताहरुले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नुअघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुयाउन र इन्टरनेटको व्यावसायिक सेवा बिस्तारमा महत्वपूर्ण योगदान दिएका छन्।

इन्टरनेट इनेबलर्सको अवधारणा कोभिड महामारीपछि पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनमा जन्मिएको हो। वर्तमान समयमा इन्टरनेटले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य सेवा तथा सञ्चारका क्षेत्रलाई सशक्त बनाइरहेको भए पनि यसको आधार निर्माण गर्ने धेरै इन्जिनियर नेटवर्क अपरेटर, शिक्षक तथा प्रविधि अभियन्ताहरूको योगदान प्राविधिक समुदायबाहिर अझै पनि व्यापक रूपमा परिचित हुन सकेको छैन।

इन्टरनेट इनेबलर्सले यसकै लागि एसिया प्यासिफिकमा इन्टरनेटको इतिहास संरक्षण गर्ने उद्देश्यसहित आफ्नो प्राविधिक नेतृत्व, दूरदृष्टि र समर्पणमार्फत डिजिटल पूर्वाधार निर्माण गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने आयोजकको भनाई छ।

तीन दिने सानोग (SANOG) सम्मेलन आज समापन हुँदैछ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार