काठमाडौं ।
विज्ञापन बोर्डले स्वीकृति प्राप्त नगरी विज्ञापन सामग्री प्रचार प्रसार नगर्न र गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ।
बोर्डले स्वीकृति प्राप्त नगरी विभिन्न सञ्चारमाध्यममार्फत श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण भइरहेको भन्दै त्यस्ता विज्ञापन प्रसारण नगर्न भनेको हो।
यस्तै विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देश लगायतका आवश्यक विवरण उल्लेख नगरिएको, तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने उद्देश्यले प्रचलित कानूनले निषेध गरेका विषयवस्तु समावेश गरी विज्ञापन प्रसारण गरिएको पाइएको उल्लेख छ।
विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) बोर्डबाट स्वीकृत भई कार्यान्वयनमा रहेको भन्दै उल्लिखित कानूनी व्यवस्था बमोजिम नेपालमा प्रसारण हुने श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्रीलाई नेपालभित्र प्रसारण गर्नुपूर्व विज्ञापन बोर्डबाट परीक्षण गराइ विज्ञापन सामग्री प्रसारण अनुमति प्राप्त गरेपछि मात्र प्रसारण गर्न/गराउन तथा हालसम्म विज्ञापन बोर्डबाट परीक्षण नगराइ प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराइ कानूनी प्रक्रिया पूरा गर्न एवम् कानून विपरीत रहेका विज्ञापन सामग्री अविलम्ब हटाउन भनेको हो।
साथै, कानूनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ।
प्रकाशित: ११ श्रावण २०८३, सोमबार