एसईएस र ईयूटेलस्याटले करिब ६.१ अर्ब डलर प्रोत्साहन भुक्तानी पाउने

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
एसईएस र ईयूटेलस्याटले करिब ६.१ अर्ब डलर प्रोत्साहन भुक्तानी पाउने
फाइल तस्बिर

काठमाडौं ।

यूरोपेली स्याटेलाइट कम्पनी एसईएस र ईयूटेलस्याटले अमेरिकी वायरलेस सेवाका लागि स्याटेलाइट स्पेक्ट्रम खाली गर्न सहयोग गरेबापत करिब ६.१ अर्ब अमेरिकी डलर प्रोत्साहन भुक्तानी प्राप्त गर्ने भएका छन्। यो घोषणापछि सोमबार दुवै कम्पनीको सेयर मूल्य बढेको छ।

एसईएसको सेयर ६.६ प्रतिशतले बढ्यो भने युटेलसाटको सेयर ५.७ प्रतिशतले उकालो लागेको थियो। अमेरिकी आगामी पुस्ताको वायरलेस सेवाका लागि स्पेक्ट्रम उपलब्ध गराएबापत ठूलो रकम प्राप्त हुने अपेक्षाले लगानीकर्ता उत्साहित भएका हुन्।

अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले स्याटेलाइट कम्पनीहरूलाई कुल ६.३ अर्ब अमेरिकी डलर प्रोत्साहन रकम वितरण गर्ने निर्णय गरेको छ। यसमध्ये एसईएसले ८९ प्रतिशत, ईयूटेलस्याटले ८ प्रतिशत र क्यानडाको टेलिस्याटले ३ प्रतिशत प्राप्त गर्नेछन्।

एफसीसीले मोबाइल सेवा प्रदायकका लागि माथिल्लो सी-ब्यान्डको १६० मेगाहर्ज स्पेक्ट्रम उपलब्ध गराउने योजना बनाएको छ। यसको लिलामी २७ अप्रिल २०२७ देखि सुरु हुने तालिका छ।

रोयटर्सका अनुसार स्याटेलाइट कम्पनीहरूले डिसेम्बर २०३० भित्र मुख्य स्पेक्ट्रम स्थानान्तरण पूरा गरेमा ४.९ अर्ब अमेरिकी डलर प्रोत्साहन रकम पाउनेछन्। त्यसपछि जुन २०३१ सम्मको अन्तिम समयसीमासँग थप १.४ अर्ब अमेरिकी डलर जोडिएको छ।

यसका अतिरिक्त, स्पेक्ट्रम स्थानान्तरणका लागि योग्य खर्च पनि कम्पनीहरूलाई फिर्ता गरिनेछ। एफसीसीले यस्तो खर्च ४ अर्बदेखि ५ अर्ब अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरेको छ।

जेपीमोर्गनका विश्लेषकका अनुसार प्रोत्साहन रकमको वर्तमान मूल्य एसईएसको प्रति सेयर करिब ६ युरो बराबर हुन्छ भने ईयूटेलसाटको प्रति सेयर ०.५ यूरोभन्दा कम हुन्छ।

जेपीमोर्गनले एसईएसले प्राप्त गर्ने ५.६ अर्ब अमेरिकी डलर कर तथा इन्टेलसाटका बन्डधनीप्रतिको दायित्वका कारण घट्न सक्ने जनाएको छ। पहिलो १०० मेगाहर्ज स्पेक्ट्रम खाली गरेबापत प्राप्त हुने रकमको ४२.५ प्रतिशत, अर्थात् करिब १.१ अर्ब अमेरिकी डलर इन्टेलस्याटका बन्डधनीलाई दिनुपर्ने व्यवस्था छ।

विश्लेषकहरूका अनुसार एफसीसीको यो निर्णयले अमेरिकी दूरसञ्चार कम्पनीहरूले आगामी स्पेक्ट्रम लिलामीमा गर्नुपर्ने ठूलो लगानीको संकेत पनि दिएको छ। जेपीमोर्गनका अनुसार सन् २०२७–२०२८ मा हुने स्पेक्ट्रम लिलामीमा करिब २५ अर्ब अमेरिकी डलर खर्च हुन सक्नेछ, जसले भविष्यमा कम्पनीहरूको सेयर पुनर्खरिद योजनामा प्रभाव पार्न सक्छ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार