ओपनएआईले डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढाउने

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
ओपनएआईले डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढाउने

काठमाडौं ।

च्याटजीपीटी विकासकर्ता ओपनएआईले आफ्नो यूरोपेली मुख्यालय रहेको आयरल्यान्डको डब्लिनमा कर्मचारी संख्या तीन गुणाभन्दा बढी बढाएर ३५० पुर्‍याउने घोषणा गरेको छ।

कम्पनीले सोमबार डब्लिनको सिलिकन डक्स क्षेत्रमा ८,००० वर्गमिटर (८८,००० वर्गफिट) कार्यालय स्थान भाडामा लिएको जानकारी पनि दिएको छ।

ओपनएआईले सन् २०२३ मा सञ्चालनमा आएको आफ्नो डब्लिन कार्यालयमा हाल १०० भन्दा बढी कर्मचारी कार्यरत रहेको जनाएको छ। आगामी दुई वर्षभित्र इन्जिनियरिङ र सहयोगसम्बन्धी विभिन्न क्षेत्रमा थप २५० कर्मचारी भर्ती गर्ने योजना रहेको कम्पनीले बताएको छ।

डब्लिनमा गुगलको मातृकम्पनी अल्फाबेट, फेसबुकको मातृकम्पनी मेटा र माइक्रोसफ्टलगायतका अमेरिकी प्रविधि कम्पनीहरूको युरोपेली मुख्यालय पनि रहेका छन्।

रोयटर्सका अनुसार मुख्यतः प्रविधि र औषधि क्षेत्रमा कार्यरत विदेशी बहुराष्ट्रिय कम्पनीहरूले आयरल्यान्डका करिब ११ प्रतिशत श्रमिकलाई रोजगारी दिएका छन्।

ती कम्पनीहरूले आयरल्यान्डमा उच्च शिक्षित जनशक्ति उपलब्ध हुनु आफ्नो लगानीको प्रमुख कारणमध्ये एक भएको बताउने गरेका छन्। साथै, त्यहाँको कर प्रणाली पनि विदेशी कम्पनीलाई आकर्षित गर्ने अर्को कारण मानिन्छ।

गत एक वर्षमा मेटा र टिकटकजस्ता केही ठूला प्रविधि कम्पनीहरूले आयरल्यान्डस्थित आफ्ना कार्यालयमा कर्मचारी कटौती गरेका थिए। यसबीच आयरल्यान्ड सरकारले नयाँ विदेशी लगानी आकर्षित गर्न कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार