सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि व्यवस्थापन संकायले सार्वजनिक गर्यो नयाँ नियम

  • Technology Khabar | ११ श्रावण २०८३, सोमबार
सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिवि व्यवस्थापन संकायले सार्वजनिक गर्यो नयाँ नियम

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा), डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल कार्यक्रमका सबै क्याम्पसका परीक्षार्थीका लागि परीक्षा अवधिभर अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमसहित अत्यन्त जरुरी सूचना जारी गरेको छ।

हालै एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाट्सएपमा बाहिरिएको घटनापछि त्रिविले परीक्षा मर्यादाका हिसाबले नियमहरुमा कडाई गर्न लागेको आकलन गरिएको छ।

आज साउन ११ गते जारी सूचनाअनुसार परीक्षार्थीले परीक्षा सञ्चालनमा कुनै अवरोध नआओस् र परीक्षा मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले निम्न व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेशपत्र प्रत्येक परीक्षामा अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने।

परीक्षा केन्द्रमा तोकिएको समयभन्दा कम्तीमा आधा घण्टा अगावै उपस्थित हुनुपर्ने।

कक्षाभित्र वा निर्धारित सीटमा प्रवेश गरेपछि परीक्षा समाप्त नभएसम्म बाहिर निस्कन नपाइने। परीक्षा सुरु भएको पहिलो एक घण्टा र अन्तिम आधा घण्टाभित्र कक्षाबाट बाहिर जान नपाइने व्यवस्था गरिएको छ।

मोबाइल फोन, स्मार्ट वाच तथा अन्य इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य कुनै पनि सामग्री परीक्षा कक्षमा लैजान पूर्ण रूपमा निषेध गरिएको छ।

नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने वा अनुशासनविपरीत गतिविधि गर्ने जो–कोहीमाथि विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार कारबाही गरिने।

केन्द्राध्यक्ष, सुपरिवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीले दिएका निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्ने।

व्यवस्थापन संकायले परीक्षा नियम तथा आचारसंहिताको उल्लङ्घन भएमा विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार परीक्षा रद्द हुने, निष्कासन हुने तथा आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।

साथै, सबै परीक्षार्थीलाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सम्पन्न गराउन सहयोग गर्न व्यवस्थापन संकायले आग्रह गरेको छ।

प्रकाशित: ११ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार