ईयूद्वारा नियम उल्लङ्घन गरेको भन्दै गुगलमाथि करिब १ अर्ब डलर जरिवाना

  • Technology Khabar | ८ श्रावण २०८३, शुक्रबार
ईयूद्वारा नियम उल्लङ्घन गरेको भन्दै गुगलमाथि करिब १ अर्ब डलर जरिवाना

काठमाडौं ।

युरोपेली आयोगले ठूलो प्रविधि कम्पनीहरूको प्रभाव सीमित गर्न बनाइएका युरोपेली संघ (ईयू) का नियम उल्लङ्घन गरेको भन्दै गुगललाई बिहीबार कुल ८९ करोड युरो (करिब १ अर्ब डलर) जरिवाना गरेको छ।

यद्यपि, ईयूका नियामकहरूले गुगलले नियम पालना गर्ने प्रयासमा राम्रो प्रगति गरिरहेको भन्दै कम्पनीले थप जरिवाना भने टार्न सक्ने संकेत दिएका छन्। यी जरिवानाले ठूला प्रविधि कम्पनीहरूले प्रतिस्पर्धीलाई दबाउन नपाऊन् भन्ने युरोपको अडानलाई देखाएको छ।

रोयटर्सका अनुसार युरोपेली आयोगले डिजिटल मार्केट्स एक्ट(डीएमए) अन्तर्गत गुगललाई खोज परिणाममा आफ्नै किनमेल, होटल, यातायात र खेलसम्बन्धी सेवालाई प्राथमिकता दिएको भन्दै ४६ करोड युरो जरिवाना गरेको हो।

अर्को ४३ करोड युरोको जरिवाना गुगल प्लेमा रहेका प्रतिबन्धका कारण लगाइएको हो। आयोगका अनुसार गुगलले एप विकासकर्तालाई प्रतिस्पर्धी एप स्टोर वा वेबसाइटमा उपलब्ध सस्ता विकल्पतर्फ प्रयोगकर्तालाई निःशुल्क रूपमा लैजान नदिएको थियो।

यो डीएमए अन्तर्गत गुगलमाथि लगाइएको पहिलो जरिवाना हो। प्रतिस्पर्धाविरोधी गतिविधिसम्बन्धी मुद्दामा भने यो कम्पनीमाथिको पाँचौं र छैटौं जरिवाना हो। यससँगै झन्डै दुई दशकमा गुगलमाथि लगाइएका कुल जरिवानाको रकम १०.३८ अर्ब युरो पुगेको छ।

अमेरिकी आलोचनाबारे सोधिएको प्रश्नमा ईयूकी प्रतिस्पर्धासम्बन्धी प्रमुख टेरेसा रिबेराले, “हाम्रो कर्तव्य भनेको हाम्रो कानुन पूर्ण रूपमा पालना गराउनु हो,” भनिन्।

ईयूकी प्रविधिसम्बन्धी प्रमुख हेन्ना भिर्क्कुनेनले, “डीएमएको उद्देश्य सबैका लागि निष्पक्ष र समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु हो। यी निर्णयमार्फत हामी प्रतिस्पर्धा कायम गर्न चाहन्छौं,” भनिन्।

गुगलले आयोगको निर्णयको आलोचना गर्दै अदालत जाने सम्भावना रहेको जनाएको छ। कम्पनीलाई ६० दिनभित्र प्रतिस्पर्धीलाई निष्पक्ष व्यवहार गर्न तथा एप विकासकर्तालाई गुगल प्ले बाहिरका विकल्पतर्फ प्रयोगकर्तालाई लैजान अनुमति दिन निर्देशन दिइएको छ।

गुगलका ग्लोबल अफेयर्स अध्यक्ष केन्ट वाकरले नियम पालना गर्न युरोपेली प्रयोगकर्ताले मन पराउने होटल, उडान र रेस्टुरेन्टको तत्काल मूल्य तथा उपलब्धतासम्बन्धी खोज सुविधा हटाउनुपर्ने र गुगल प्लेका केही सुरक्षा सुविधा कमजोर बनाउनुपर्ने अवस्था आएको बताए।

उनले भने, “यो निष्पक्ष प्रतिस्पर्धा होइन, केही स्वार्थी उजुरीकर्ताका कारण उत्पादनको गुणस्तर घटाउने काम हो। यसको असर यूरोपेली व्यवसाय र उपभोक्तामाथि पर्नेछ। नियमनले उत्पादनलाई राम्रो बनाउनुपर्छ, खराब होइन।”

प्रकाशित: ८ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...