काठमाडौं ।
एक भारतीय स्टार्टअपले एयर ट्याक्सी (ईभीटीओएल) प्रविधिको प्रदर्शन गरेको छ। आईआईटी मद्रासबाट सुरु भएको स्टार्टअप द ईप्लेन कम्पनी (ePlane) कम्पनीले आफ्नो इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (ईभीटीओएल) विमान, ई२००एक्स को पूर्ण-स्तरीय प्रोटोटाइप अनावरण गरेको छ।
कम्पनीले यो विश्वको सबैभन्दा कम्प्याक्ट फुल-स्केल पखेटा भएको यात्रुवाहक ईभीटीओएल अर्थात इलेक्ट्रिकल भर्टिकल टेकअफ र ल्याण्डिङ्ग गर्न सक्ने विमान मध्ये एक भएको दाबी गरेको छ र अवस्थित हेलिप्याड जस्ता साना ठाउँहरूबाट सञ्चालन गर्न डिजाइन गरिएको हो। कम्पनीको विश्वास छ कि यसले भविष्यमा शहरहरूमा नयाँ, ठूला भर्टिपोर्टहरूको आवश्यकता कम गर्न सक्छ।
ई२००एक्स (e200X) एक पाइलट र दुई यात्रु बोक्न डिजाइन गरिएको २.२-टनको इलेक्ट्रिक ईभीटीओएल विमान हो। आवश्यक परेमा, यसले २०० किलोग्रामसम्म कार्गो पनि बोक्न सक्छ।
कम्पनीका अनुसार, यो एकल चार्जमा लगभग ११० किलोमिटर उड्न सक्छ। यसको आकार लगभग ८ मिटर तथा चौडाई ११ मिटर छ, जसलाई कम्पनीले यसको सबैभन्दा ठूलो विशेषताको रूपमा दाबी गर्छ।
कम्पनीले भनेको छ कि ई२००एक्सको कम्प्याक्ट डिजाइनले यसलाई अवस्थित हेलिप्याड, खाली ठाउँहरू र प्राविधिक रूपमा तयार छानाबाट सञ्चालन गर्न अनुमति दिन्छ।
हाल यसको प्रोटोटाइप मात्र सार्वजनिक भएको हुँदा यसले सुरक्षा र नियामक स्वीकृतिहरू सहित धेरै प्राविधिक मापदण्डहरू पूरा गर्नुपर्नेछ। यसका साथै यसले परीक्षण उडानसमेत सफलरुपमा सम्पन्न गर्नुपर्नेछ।
प्रकाशित: ६ श्रावण २०८३, बुधबार