एक्सद्वारा एन्ड्रोइडका लागि पूर्ण रूपमा पुनर्निर्माण गरिएको नयाँ एप सार्वजनिक

  • Technology Khabar | ६ श्रावण २०८३, बुधबार
एक्सद्वारा एन्ड्रोइडका लागि पूर्ण रूपमा पुनर्निर्माण गरिएको नयाँ एप सार्वजनिक

काठमाडौं ।

अर्बपति इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले करिब एक वर्षको विकासपछि एन्ड्रोइडका लागि पूर्ण रूपमा पुनर्निर्माण गरिएको नयाँ एप सार्वजनिक गरेको छ। यो एप अहिले डाउनलोडका लागि उपलब्ध छ।

कम्पनीका अनुसार नयाँ एन्ड्रोइड एप शून्यबाट निर्माण गरिएको हो। यसमा एप लोड हुने गति, स्क्रोलिङ, सूचना प्रणालीलगायतका पक्षमा सुधार गरिएको छ।

यो अपडेटको विकास करिब एक वर्षदेखि भइरहेको थियो। गत अगस्टमा एक्सका उत्पादन प्रमुख निकिता बियरले कम्पनीले एन्ड्रोइड अनुभव सुधार गर्न विशेष टोली गठन गरेको बताएका थिए। त्यसपछि उनले अक्टोबरमा एन्ड्रोइडमा एक्सको डाउनलोड संख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेकाले नयाँ एप कम्पनीका लागि प्राथमिकतामा रहेको बताएका थिए।

टेकक्रञ्चका अनुसार नयाँ एप सार्वजनिक गर्दै बियरले यसलाई कम्पनीको इतिहासकै सबैभन्दा ठूलो इन्जिनियरिङ परियोजनामध्ये एक बताएका छन्। उनका अनुसार यो एप पुरानो संस्करणलाई सुधार गरेर होइन, पूर्ण रूपमा नयाँ रूपमा निर्माण गरिएको हो।

उनले नयाँ एप पहिलेभन्दा छिटो, सहज र भरपर्दो भएको तथा यसले आगामी नयाँ फिचरहरू पनि धेरै छिटो विकास गर्न सहयोग गर्ने बताएका छन्।

हालका महिनाहरूमा एक्सले एक्स मनी र एक्स च्याटजस्ता नयाँ सुविधा सार्वजनिक गरेको छ, जसका आफ्नै छुट्टाछुट्टै एप पनि उपलब्ध छन्।

नयाँ एन्ड्रोइड एपले एन्ड्रोइड प्रमुख स्मार्टफोन प्लेटफर्म रहेका विश्वका विभिन्न बजारमा थप प्रयोगकर्तालाई एक्स प्रयोग गर्न वा पुनः फर्किन प्रोत्साहित गर्न सक्ने अपेक्षा गरिएको छ। गत वर्ष एन्ड्रोइड संस्करणमा समस्या यति धेरै थियो कि प्रयोगकर्ताले लिंक खोलेर एक्सका पोस्टसमेत हेर्न सक्दैनथे।

यद्यपि, बियरले अझै केही सुधार गर्न बाँकी रहेको बताएका छन्। पुराना एन्ड्रोइड उपकरणमा कार्यसम्पादन सुधार गर्ने र एक्सको प्रत्यक्ष अडियो सुविधा ‘स्पेसेस’ का लागि समर्थन थप्ने काम जारी रहेको उनले बताए।

उनका अनुसार नयाँ भिडियो सम्पादक, भिडियोमार्फत प्रतिक्रिया दिने सुविधा, क्यासट्याग र कस्टम टाइमलाइन जस्ता सुविधा पनि चाँडै एन्ड्रोइड संस्करणमा उपलब्ध गराइनेछ।

हाल एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमार्फत आफ्नो विद्यमान एक्स एप अपडेट गरेर नयाँ संस्करण प्रयोग गर्न सक्नेछन्।

प्रकाशित: ६ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...