ट्रुथ सोशल पोस्टहरूमा सबैभन्दा छिटो पहुँच दिन प्रतिमहिना १ लाख डलरसम्म शुल्क लिने प्रस्ताव आएको रिपोर्ट

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
ट्रुथ सोशल पोस्टहरूमा सबैभन्दा छिटो पहुँच दिन प्रतिमहिना १ लाख डलरसम्म शुल्क लिने प्रस्ताव आएको रिपोर्ट

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले वाल स्ट्रिटका ट्रेडर र लगानी कम्पनीहरूलाई ट्रम्पका ट्रुथ सोशल पोस्टहरूमा सबैभन्दा छिटो पहुँच दिन प्रतिमहिना १ लाख डलरसम्म शुल्क लिने प्रस्ताव गरेको विषयमा छलफल गरेको यसबारे जानकारी भएका स्रोतहरूले बताएका छन्।

ट्रुथ सोशलको स्वामित्व रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) ले पछिल्ला केही सातादेखि कम्पनीहरूले तीन वर्षको योजना रोजेमा प्रतिमहिना ६० हजार डलरको छुटयुक्त योजना पनि प्रस्ताव गरेको स्रोतहरूले बताएका छन्। गोप्य छलफल भएकाले स्रोतहरूले आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्।

टीएमटीजीले बिहीबार बैंक तथा ट्रेडिङ कम्पनीहरूलाई ट्रुथ सोशलका सबैभन्दा प्रभावशाली १० खाताका पोस्टहरूमा सबैभन्दा छिटो पहुँच उपलब्ध गराउने सशुल्क लाइसेन्सयुक्त डाटा सेवा “ट्र्थ एपीआई” सार्वजनिक गरेको थियो। तर कम्पनीले यसको मूल्यबारे कुनै जानकारी दिएको छैन।

रोयटर्सका अनुसार यो कदम कम्पनीको डाटा लाइसेन्सिङ व्यवसायमा पहिलो प्रवेश हुने भएको छ, जसबाट नयाँ आम्दानीको स्रोत खुल्ने अपेक्षा गरिएको छ। तर यसले डेमोक्र्याट सांसदहरूको तत्काल आलोचना पनि खेपेको छ।

अमेरिकी सिनेटको वित्त समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ओरेगनका सिनेटर रोन वाइडेनले यसले ट्रम्प परिवारलाई आर्थिक लाभ पुग्ने र “वाल स्ट्रिटका ट्रेडरहरूलाई धनी बनाउने” बताएका छन्।

ह्वाइट हाउसले वाइडेनको टिप्पणीबारे सोधिएका प्रश्नहरू टीएमटीजीतर्फ पठाएको थियो। कम्पनीले भने टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

ट्रम्पका सामाजिक सञ्जाल पोस्टहरूले प्रायः वित्तीय बजारमा प्रभाव पार्ने गर्छन्। धेरै ठूला ट्रेडिङ कम्पनी, हेज फन्ड तथा वित्तीय सेवा कम्पनीहरूको नाफा कारोबार कति छिटो गर्न सकिन्छ भन्ने कुरामा निर्भर रहने गर्छ।

उदाहरणका रूपमा, सन् २०२५ अप्रिल ९ मा ट्रम्पले ट्रुथ सोशलमार्फत आफ्ना धेरै नयाँ भन्सार शुल्कहरू ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि वाल स्ट्रिटका प्रमुख सूचकहरू तीव्र रूपमा बढेका थिए।

स्रोतहरूका अनुसार उच्च-गतिको कारोबार गर्ने कम्पनीहरूका लागि ट्रुथ एपीआईमा पहुँच अत्यावश्यक हुनेछ, किनभने केही मिलिसेकेन्डको गति लाभले पनि ठूला कारोबारमा लाखौं डलरसम्म अतिरिक्त नाफा दिलाउन सक्छ।

फाइनान्सियल टाइम्सले बिहीबार यसअघि नै प्रतिमहिना १ लाख डलर सदस्यता शुल्कसम्बन्धी छलफलबारे समाचार प्रकाशित गरेको थियो।

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार