जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल

  • Technology Khabar | २७ असार २०८३, शनिबार
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल

काठमाडौं ।

जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तरिक्ष प्रक्षेपण लागत घटाउने र विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बन्ने लक्ष्यसहित जापानले यो प्रविधिको विकास अघि बढाएको हो।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) को उत्तर–पूर्वी जापानस्थित नोशिरो परीक्षण केन्द्रमा शनिबार गरिएको परीक्षणका क्रममा ‘आरभी–एक्स’ रकेटले एक मिनेटभन्दा कम समयको उडान भरेको थियो ।

परीक्षणका क्रममा रकेट केही समय हावामा स्थिर रह्यो, तेर्सो दिशामा अघि बढ्यो र सुरक्षित रूपमा अवतरण गरेको जाक्साले जनाएको छ।

जाक्साका पुनः प्रयोगयोग्य रकेट परियोजना प्रमुख ताकाशी इतोका अनुसार रकेटले परीक्षणका क्रममा योजनाअनुसार प्रदर्शन गरेको थियो। रकेटले करिब ११ मिटर उचाइ हासिल गर्दै अवतरण गर्नुअघि ठाडो अवस्थामा १६ मिटर तेर्सो दूरी तय गरेको थियो।

अमेरिकी कम्पनी स्पेसएक्सले पुनः प्रयोगयोग्य रकेट प्रविधिको प्रयोगमार्फत अन्तरिक्ष प्रक्षेपण लागत घटाउँदै आएको अवस्थामा जापानले पनि सोही प्रविधिमा आधारित क्षमता विकास गर्न खोजिरहेको छ।

यो परीक्षण जापानको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम मानिएको छ। यसले हाल प्रयोग भइरहेको एकपटक मात्र प्रयोग गर्न मिल्ने एच–३ रकेटको तुलनामा कम लागतमा प्रक्षेपण सेवा विकास गर्ने लक्ष्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनले आफ्नो रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको घोषणा गरेको भोलिपल्टै जापानले यो परीक्षण गरेको हो।

जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरिरहेको आरभी–एक्स रकेटमा सुधारिएको टिकाउ इन्जिन र अवतरणका क्रममा हुने धक्का सहन सक्ने चारवटा ल्यान्डिङ गियर जडान गरिएको छ । रकेटको व्यास एक दशमलव आठ मिटर र लम्बाइ सात दशमलव तीन मिटर रहेको छ।

परियोजना प्रमुख इतोका अनुसार उक्त इन्जिनले हालसम्म १६५ पटक दहन परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ।

जेएएक्सएले फ्रान्स र जर्मनीसँगको सहकार्यमा पुनः प्रयोगयोग्य रकेट विकास गरिरहेको छ। आगामी परीक्षणहरूमा आरभी–एक्सलाई करिब १०० मिटर उचाइसम्म पुर्याउने योजना रहेको पनि जेएएक्सएले जनाएको छ।

जापानी सरकारले अन्तरिक्ष ढुवानी क्षमतालाई राष्ट्रिय अन्तरिक्ष कार्यक्रम र सुरक्षाका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानेको छ। रासस/एपी

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...