काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सेदी क्षेत्रमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१८ सेदीस्थित स्थानीय जीवन श्रेष्ठको घरमा सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा कोठा भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले भारतका भुपा मानपुर निवासी ३४ वर्षीय सत्यम सिंहसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्ने अन्यमा भारतका २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र, २४ वर्षीय सत्यम राजपूत तथा दार्चुलाका ३१ वर्षीय दिनेश सिंह बोहोरा रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले १८ चैत २०८२ देखि उक्त घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
घटनास्थलबाट ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको ब्याट्री, १ थान युपिएस, २ थान राउटर, १६ थान चार्जर तथा ३४ थान भारतीय सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिङ्क पठाएर प्रयोगकर्तालाई दर्ता गराई क्रिकेट, फुटबल र क्यासिनो लगायतका खेलमा सट्टेबाजी गराउने गरिएको खुलेको छ। खेल जित्ने व्यक्तिलाई अनलाइनमार्फत रकम भुक्तानी गर्ने व्यवस्था रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
प्रहरीका अनुसार उक्त समूहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको पाइएको छ। यसको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरास्थित केन्द्र २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको खुलेको छ। त्यहाँ कार्यरत व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए।
अनलाइन कारोबारका लागि भारतीय नागरिकका बैङ्क खाता भाडामा प्रयोग गरिएको पाइएको छ। साथै एक्सिस बैङ्क, आइडिएफसी बैङ्क, क्यानरा बैङ्क, २४ पे, पे बजार, गुगल पे र नोक्सोन पे लगायतका माध्यमबाट कारोबार गरिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका तीन ओटा कम्प्युटरका सिटमा ठूलो रकमको कारोबार भएको विवरण भेटिएको छ। एउटा सिटमा १ करोड ११ लाख ९९ हजार ११८, अर्कोमा ९ करोड २ लाख २२ हजार २६ र तेस्रोमा १० करोड ५५ लाख ६८ हजार ६९० क्रेडिट देखिएको छ।
प्रहरीका अनुसार भाडामा लिइएको घरमै बसोबास, खानपिन तथा अनलाइन गेम सञ्चालनको व्यवस्था मिलाइएको थियो। घटनाको प्रकृति हेर्दा अन्तरदेशीय गिरोहको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।
बरामद उपकरण तथा प्रयोग भएका खाताको थप प्राविधिक विश्लेषण भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित: २७ असार २०८३, शनिबार