सामाजिक सञ्जालमा आलोचना भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले लेखे अर्को कविता- ‘आगोका लप्काहरू निभाइ छाड्ने छौं’

  • Technology Khabar | २७ असार २०८३, शनिबार
सामाजिक सञ्जालमा आलोचना भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले लेखे अर्को कविता- ‘आगोका लप्काहरू निभाइ छाड्ने छौं’

काठमाडौं ।

तीन वर्षअघि तत्कालिन संघिय संसद भवन अगाडि प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखिएको आफ्नो कविता अहिले भाइरल भएपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फेरि अर्को कविता लेखेका छन्।

राहदानी विभाग अगाडि शुक्रबार आत्मदाह गरेका गणेश नेपालीको विषय समावेश गरेर सामाजिक सञ्जालमा उनले लेखेको पुरानो कविता भाइरल हुँदा चर्को आलोचनामा परेका थिए।

कतिपय सामाजिक सञ्जालकर्ताहरुले यसअघि सरकारलाई प्रश्न सोधेको तर आफू सरकारमा हुँदा चुपचाप भएको भन्दै आलोचना गरेका थिए।

शनिबार उनले फेसबुकमार्फत सार्वजनिक गरेको नयाँ कवितामा आगोका लप्का निभाउन आफूहरू रातदिन लागेको दाबी गर्दै एकदिन निभाएरै छाड्ने लेखेका छन्।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँबानेश्वरको तत्कालीन संसद् भवनअगाडि आचार्यले आत्मदाह गरेपछि तत्कालिन सरकारको विरोध गर्दै कविता लेखेका थिए।

जसमा आचार्य जल्दा तत्कालीन सत्ताधारी शक्ति सुरक्षा घेरामा रहेको भन्दै नजलेको बिम्ब प्रस्तुत गरेका थिए।

अहिले प्रकाशित कवितामा उनले आफूपनि ‘प्रश्न’को घेराबाट ‘जवाफ’को कठघरामा आइपुगेको भन्दै आगोका लप्काहरू निभाउन दिनरात लागेको र सेवक भएर निभाइ छाड्ने बताएका छन्।

यस्तो छ उनले लेखेको कविता-
मैले भनेको थिएँ-
‘उनको शरीरमा फैलिएको आगोको एक लप्का
तिम्रो दिमागमा पनि लगाऊ
र निभाऊ सम्भावित आगोका लप्काहरू!’
र आज केही वर्षपछि
मेरो दिमागमा निःसन्देह
एक हैन, असङ्ख्य लप्का लागेको छ
र अनेक कोणबाट सोचमग्न छु-
कसरी निभाउने सम्भावित आगोका लप्काहरू?
र कसरी बनाउने आगोका लप्का बिनाको समय?
हिजो प्रश्नमा म रोकिन सक्थेँ
तर आज, सक्दिन।
र प्रश्न हैन, जवाफ
समयले मसँग पनि मागिरहेको छ।
र, तिनै जवाफ शब्दमा हैन
कर्ममा लेख्न म बसेको छु
केही समयदेखि।
हामी जान्दछौँ-
हिजो
आगोका लप्काहरूलाई
नजरअन्दाज गरिएका कारण
समयमै ननिभाइएका कारण
आज
हामी ‘प्रश्न’को घेराबाट
‘जवाफ’को कठघरामा
आइपुगेका छौँ।
र हामी
आगोका लप्काहरू निभाउन
दिनरात लागेका छौं
लागिरहनेछौँ
सेवक भएर
निभाइ छाड्नेछौँ
सबैसबै सम्भावित आगोका लप्काहरू!

 

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार