काठमाडौं ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम तथा युट्युबरहरुलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
केही दिनअघि ट्राफिक जरिवानाका विषयमा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन्।
मन्त्री पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म ठूला-साना युट्युबर, सामाजिक सञ्जालहरु र पत्रकारहरु कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका हुन्।
‘आजदेखि मैले कुनै पनि ठुला साना युटुबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन’, उनले एक्सको पोस्टमा लेखेका छन्।
मन्त्री पुनले केही दिनअघि युट्युबरहरूलाई अन्तर्वार्ता दिने क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भनी दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यस बारेमा मन्त्री पुनले सो भनाइ फिर्ता लिँदै माफीसमेत मागेका छन्।
“केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरुलाई अन्तरवार्ता दिँदा रु. ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। अचानक त्यसो बोल्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला।”
अन्तर्वार्ताका क्रममा आफूलाई विवादमा तानिएको दाबी गर्दै मन्त्री पुनले ट्राफिक जरिवानासम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दाभन्दै पनि उनीहरूले कोट्याई कोट्याई सोधेको जिकिर गरेका छन्।
“मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेका हुन्,” उनले पोस्टमा लेखेका छन्।
प्रकाशित: २७ असार २०८३, शनिबार