एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक

  • Technology Khabar | २७ असार २०८३, शनिबार
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
बिङ्गमार्फत जीपीटी-४ओ एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

विश्वका प्रमुख सङ्गीत उद्योगसम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएका सङ्गीत सामग्रीको पहिचान गर्न नयाँ स्वेच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। यसको उद्देश्य एआईबाट उत्पादित सामग्रीबारे श्रोतालाई स्पष्ट जानकारी उपलब्ध गराउनु हो।

फोनोग्राफिक उद्योगको अन्तरराष्ट्रिय महासङ्घ (आईएफपीआई) र रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए) ले ग्रामी अवार्ड आयोजकसहित अन्य संस्थाहरूसँग मिलेर शुक्रबार उक्त प्रणाली सार्वजनिक गरेका हुन् ।

संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा श्रोताहरूले सङ्गीत सिर्जनामा एआई कसरी र कति प्रयोग भएको छ भन्ने जानकारी चाहेको उल्लेख गर्दै नयाँ लेबलले पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नयाँ प्रणालीअन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिनेछन् । पहिलो ‘एआईद्वारा सिर्जना गरिएका’लेबल त्यस्ता सामग्रीमा प्रयोग हुनेछ, जहाँ गीत वा रेकर्डिङका अधिकांश वा सम्पूर्ण सिर्जनात्मक पक्ष कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको हुन्छ । यसमा एआईबाट पूर्ण रूपमा सिर्जित गीत, एआईद्वारा तयार गरिएका मुख्य स्वर वा प्रमुख वाद्य ट्र्याकसमेत समावेश हुनेछन् ।

दोस्रो ‘एआई–सहायता प्राप्त’ लेबल भने मुख्य रूपमा मानव सिर्जनामा आधारित भए पनि केही सिर्जनात्मक अंशमा एआईको सहयोग लिइएको सङ्गीतमा प्रयोग गरिनेछ। यस प्रकारका सामग्रीमा मुख्य स्वर र प्रमुख वाद्य प्रस्तुतीकरण भने मानव कलाकारले नै गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यो स्वेच्छिक लेबलिङ प्रणाली सङ्गीत स्ट्रिमिङ सेवासहित विश्वव्यापी रूपमा लागू गर्ने लक्ष्य राखिएको छ। सङ्गीत स्ट्रिमिङ सेवा डिजरले एआईबाट सिर्जित सामग्रीलाई स्वचालित रूपमा चिह्न लगाउने व्यवस्था गरिसकेको छ। कम्पनीका अनुसार हाल नयाँ अपलोड हुने सामग्रीमध्ये करिब आधा एआईबाट सिर्जित छन् । जुन महिनामा डिजरले ९९ दशमलव आठ प्रतिशत शुद्धतासहित एआई सङ्गीत पहिचान गर्ने प्रणालीसमेत सार्वजनिक गरेको थियो ।

यसै वर्षको सुरुमा एप्पल म्युजिकका एक अधिकारीले नयाँ अपलोड हुने सामग्रीमध्ये एक तिहाइभन्दा बढी पूर्ण रूपमा एआईबाट सिर्जित हुने बताएका थिए । एप्पल म्युजिक, अमेजन म्युजिक र स्पोटिफाईजस्ता स्ट्रिमिङ सेवाहरूको प्रतिनिधित्व गर्ने ‘डिजिटल मिडिया एसोसिएसन’(डिमा)ले पनि नयाँ लेबलिङ प्रणालीको स्वागत गर्दै प्रयोगकर्तालाई थप पारदर्शी जानकारी उपलब्ध गराउन एआईसम्बन्धी मेटा डाटा अझ सुदृढ बनाइने जनाएको छ।

स्पोटिफाईले गत अप्रिलमा कलाकारको आधिकारिक सामग्री पहिचान गर्न ‘स्पोटिफाइद्वारा प्रमाणित’ लेबल सुरु गरेको थियो भने एआईद्वारा हुने प्रतिरूपण (इम्पर्सोनेसन) रोक्न नयाँ उपायहरू पनि लागू गरेको जनाएको छ।

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...