टेलिफोनिका रिमोट ई–सिम प्रोभिजनिङ सेवा उपलब्ध गराउने दूरसञ्चार कम्पनीहरूको सूचीमा समावेश

  • Technology Khabar | २७ असार २०८३, शनिबार
टेलिफोनिका रिमोट ई–सिम प्रोभिजनिङ सेवा उपलब्ध गराउने दूरसञ्चार कम्पनीहरूको सूचीमा समावेश
तस्बिर: टेलिकम्स डटकम

काठमाडौं ।

टेलिफोनिका टेकले विश्वव्यापी इन्टरनेट अफ थिङ्स (आईओटी) ग्राहकका लागि रिमोट ई–सिम प्रोभिजनिङ सेवा उपलब्ध गराउने दूरसञ्चार कम्पनीहरूको सूचीमा आफूलाई पनि थपेको छ।

कम्पनीले फ्रान्सेली एयरोस्पेस कम्पनी थालेससँग साझेदारी गर्दै जीएसएमएको एसजीपी.३२ मापदण्डमा आधारित ई–सिम सेवा सुरु गरेको हो। यसमार्फत ग्राहकहरूले आफ्ना आईओटी उपकरणमा उपलब्ध मोबाइल नेटवर्कबाट सिम प्रोफाइल डाउनलोड र सक्रिय गर्न सक्नेछन्।

यो समाधान टेलिफोनिकाको व्यवस्थापित आईओटी कनेक्टिभिटी प्लेटफर्म ‘काइट’मा समावेश गरिएको छ। यसले ग्राहकलाई आफूले चाहेको नेटवर्क छनोट गर्न, सदस्यता व्यवस्थापन गर्न र विश्वव्यापी आईओटी कनेक्टिभिटीको निगरानी गर्न सुविधा दिन्छ।

एसजीपी.३२ मापदण्ड सार्वजनिक भएपछि रिमोट ई–सिम प्रोभिजनिङको प्रयोग बढ्न थालेसँगै केही दूरसञ्चार कम्पनीहरूले विश्वव्यापी आईओटी बजारमा आफ्नो रणनीति परिवर्तन गर्न थालेका छन्।

अनुसन्धान संस्था ट्रान्सफोर्मा इनसाइट्सले गत वर्ष ‘ई–सिम अर्केस्ट्रेटर’को अवधारणा उदीयमान रहेको जनाएको थियो। यस्ता सेवा प्रदायकहरूले ग्राहकका तर्फबाट विश्वव्यापी आईओटी कनेक्टिभिटी व्यवस्थापनका जटिल प्रक्रिया सम्हाल्छन्।

यसमा बिलिङ, ग्राहक सहायता र ई–सिम प्रोफाइल व्यवस्थापन मात्र नभई विभिन्न देशका मोबाइल नेटवर्कको क्षमता बुझ्ने, ई–सिम स्थानीयकरण र डेटा सार्वभौमिकतासम्बन्धी नियमको पालना सुनिश्चित गर्ने जिम्मेवारी पनि समावेश हुन्छ।

यसले दूरसञ्चार कम्पनीहरूलाई आफ्नै नेटवर्क अन्तिम प्रयोगकर्तासम्म नपुगे पनि ई–सिम बजारबाट आम्दानी गर्ने अवसर प्रदान गर्छ।

टेलिकम्स डटकमका अनुसार टेलिफोनिका टेकका आईओटी कनेक्टिभिटी प्रमुख हुआन होसे गोन्जालेज मेनायाले कम्पनीले डिजिटल प्रविधिको उत्कृष्ट प्रवेशद्वार बन्ने लक्ष्यअनुसार आफ्नो कनेक्टिभिटी सेवा विस्तार गरिरहेको बताए।

उनले नयाँ ई–सिम समाधानले उन्नत, विश्वव्यापी र लचिलो कनेक्टिभिटी उपलब्ध गराउने तथा ग्राहकहरूले विशेषज्ञको आवश्यकता बिना आफ्ना सञ्चालनहरू स्वतन्त्र रूपमा व्यवस्थापन गर्न सक्ने बताए। उनका अनुसार सबै अर्केस्ट्रेसन सुविधा कम्पनीको प्रणालीमै एकीकृत गरिएको छ।

टेलिफोनिका मात्र होइन, अन्य दूरसञ्चार कम्पनीहरूले पनि ई–सिम अर्केस्ट्रेटर बन्ने रणनीति अपनाउन थालेका छन्।

मध्यपूर्व र अफ्रिका केन्द्रित कनेक्टिभिटी सेवा प्रदायक हायोले गत वर्ष एसजीपी.३२ समर्थित ह्वाइट–लेबल ई–सिम प्लेटफर्म सार्वजनिक गरेको थियो, जसले आईओटीसँगै उपभोक्ता र उद्यम सञ्चार बजारलाई पनि लक्षित गरेको छ।

अप्रिल २०२५ मा बेल्जियमको दूरसञ्चार कम्पनी बिक्सले ‘ई–सिम हब’ नामक ई–सिम अर्केस्ट्रेसन प्लेटफर्म सार्वजनिक गरेको थियो। त्यसको केही समयअघि नेदरल्यान्ड्सको केपीएनले आफ्नो आईओटी कनेक्टिभिटी सेवामा एसजीपी.३२ समर्थन थपेको थियो। साइबर सुरक्षा क्षेत्रमा स्थापित कम्पनी थालेससँगको सहकार्यले टेलिफोनिकाको नयाँ सेवाको विश्वसनीयता थप बढाएको मानिएको छ।

थालेसका मोबाइल कनेक्टिभिटी समाधान विभागकी कार्यकारी उपाध्यक्ष इभा रुडिनले विश्वभर सुरक्षित आईओटी प्रयोगको नयाँ चरण अघि बढाउन टेलिफोनिकालाई सहयोग गर्न पाउँदा गर्व लागेको बताइन्।

उनले साइबर सुरक्षा र ई–सिम क्षेत्रमा थालेसको अनुभवलाई टेलिफोनिकाको आईओटी प्रणालीसँग जोडेर कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ठूलो स्तरमा सुरक्षित रूपमा कनेक्टेड उपकरण सञ्चालन र व्यवस्थापन गर्न सक्ने बताइन्।

ट्रान्सफोर्मा इनसाइट्सका अनुसार सन् २०३५ सम्म विश्वभर आईओटी जडानको संख्या ४८ अर्ब पुग्ने अनुमान छ। तर तीमध्ये सेलुलर कनेक्टिभिटीको हिस्सा करिब ६.८ अर्ब मात्र हुनेछ।

आईओटी कनेक्टिभिटीबाट हुने आम्दानी धेरै ठूलो नभएकाले ई–सिम अर्केस्ट्रेटरको भूमिका यस बजारबाट बढी मूल्य सिर्जना गर्ने प्रभावकारी उपाय बन्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार