भेराइजनले फाइभजी स्ट्याण्डअलोनमार्फत् बीएमडब्लूका गाडीमा कनेक्टिभिटि उपलब्ध गराउने

  • Technology Khabar | २७ असार २०८३, शनिबार
भेराइजनले फाइभजी स्ट्याण्डअलोनमार्फत् बीएमडब्लूका गाडीमा कनेक्टिभिटि उपलब्ध गराउने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भेराइजनले केडीडीआईसँगको साझेदारीमार्फत अमेरिकामा बीएमडब्लूका सवारीसाधनमा फाइभजी स्ट्यान्डअलोन (एसए) र एलटीई कनेक्टिभिटी उपलब्ध गराउने भएको छ।

भेराइजनको फाइभजी र एलटीई नेटवर्कलाई केडीडीआईको ग्लोबल कम्युनिकेसन्स प्लेटफर्मसँग जोडिनेछ। यसमार्फत अमेरिकी बजारका लागि उत्पादन गरिएका नयाँ बीएमडब्लू, मिनी तथा बीएमडब्ल्यु समूहका अन्य सवारीसाधनमा कनेक्टिभिटी सेवा उपलब्ध हुनेछ।

यसले बीएमडब्लू समूहका सवारीसाधनमा सिधै मोबाइल नेटवर्क कनेक्टिभिटी उपलब्ध गराउनेछ, जसबाट बीएमडब्लू कनेक्टेड ड्राइभ, डिजिटल इन्फोटेनमेन्ट, रिमोट सेवा, एप र टेलिम्याटिक्स सेवा सञ्चालन हुनेछन्।

भेराइजनको केडीडीआईसँग पहिलेदेखि साझेदारी रहेको छ। केडीडीआईले आफ्नो प्लेटफर्ममार्फत विभिन्न उद्योगका ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओईएम) हरूलाई इन्टरनेट अफ थिङ्स (आईओटी) सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार उक्त प्लेटफर्मले बीएमडब्ल्यु समूहलाई ‘प्रोग्राम गर्न मिल्ने कनेक्टेड अनुभव’ प्रदान गर्नेछ, जसले भेराइजनको फाइभजी नेटवर्कमार्फत जाने कनेक्टिभिटी र डाटा प्याकेटमाथि नियन्त्रण गर्न सहयोग गर्नेछ।

यो सेवा अमेरिकामा नयाँ उत्पादन हुने सबै बीएमडब्लू समूहका सवारीसाधनका लागि उपलब्ध हुनेछ। साथै यी सवारीसाधन भेराइजनको ‘फाइभजी स्ट्यान्डअलोन फर कनेक्टेड भेहिकल्स’ सेवासँग जोडिने पहिलो मोडल हुनेछन्। यो सेवा भेराइजनको फाइभजी कोर र थ्रीजीपीपी रिलिज–१६ मापदण्डमा आधारित रहेको कम्पनीले जनाएको छ।

टेलिकम्स डटकमका अनुसार भेराइजन बिजनेसका प्रमुख कार्यकारी अधिकृत काइल मालाडीले ग्राहकलाई सहज कनेक्टिभिटी उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको र बीएमडब्लू समूह तथा केडीडीआईसँगको सहकार्यले अमेरिकाभरका चालकका लागि थप नवीन र सक्षम कनेक्टेड अनुभव प्रदान गर्ने बताए।

केडीडीआई अमेरिकाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सातोशी ओइशीले दुई दशकभन्दा बढी समयदेखि कनेक्टेड कार दूरसञ्चार क्षेत्रमा काम गरेको अनुभवका आधारमा बीएमडब्लू समूहको नयाँ पुस्ताको कनेक्टेड सवारी सेवा समर्थन गर्न पाउँदा गर्व लागेको बताए। उनले भेराइजन र बीएमडब्लूसँग मिलेर उत्तर अमेरिकाका ग्राहकलाई उत्कृष्ट कनेक्टेड ड्राइभिङ अनुभव उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नयाँ सवारीसाधनमा कनेक्टिभिटी सुविधा अहिले सामान्य बन्दै गएको छ। गत महिना अमेरिकी दूरसञ्चार कम्पनी एटी एन्ड टीले विद्युतीय सवारी निर्माता रिभियनसँगको साझेदारी विस्तार गर्दै आफ्नो इन्फोटेनमेन्ट प्लेटफर्ममा थप सामग्री सेवा उपलब्ध गराएको थियो।

रिभियनको नयाँ आर२ मोडललाई सफ्टवेयर–डिफाइन्ड भेहिकल (एसडीभी) का रूपमा प्रस्तुत गरिएको छ। यसले उच्च गतिको मोबाइल कनेक्टिभिटीमार्फत ओभर-द-एयर (ओटीए) सफ्टवेयर अपडेट, इन्फोटेनमेन्ट तथा अन्य रियल–टाइम सेवाहरू सञ्चालन गर्छ।

एटी एन्ड टीका हालका ग्राहकले प्रतिमहिना १५ अमेरिकी डलरमा असीमित इन-कार डेटा सेवा लिन सक्छन्। अन्य ग्राहकले एक साताका लागि १५ डलर वा ३० दिनका लागि २५ डलर तिरेर सेवा लिन सक्छन्। सवारीसाधनलाई मोबाइल वाइफाइ हटस्पटका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

एटीएन्डटीले गत महिना नै संगीत स्ट्रिमिङ सेवा प्रदायक लाइभवनसँग सम्झौता गरी आफ्नो इन-भेहिकल मनोरञ्जन प्लेटफर्ममा स्ल्याकर रेडियो सेवा थपेको थियो।

जुन महिनामा भोडाफोन बिजनेस र गिली अटो समूहको अनुसन्धान तथा विकास इकाइ गिली टेक्नोलोजी युरोपले पनि आफ्नो साझेदारी विस्तार गर्दै ‘इन्टरनेट इन द कार’, निजी नेटवर्क र क्लाउड कनेक्ट समाधानलगायत थप सवारी प्रविधि सेवाहरू समावेश गरेका थिए।

प्रकाशित: २७ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार