बढ्दो मेमोरी लागतले सस्तो स्मार्टफोन बजारमा दबाब: रिपोर्ट

  • Technology Khabar | २४ असार २०८३, बुधबार
बढ्दो मेमोरी लागतले सस्तो स्मार्टफोन बजारमा दबाब: रिपोर्ट

काठमाडौं ।

४०० अमेरिकी डलरभन्दा कम मूल्यका स्मार्टफोनको बजार यस वर्ष २२ प्रतिशतभन्दा बढीले घट्ने अपेक्षा गरिएको छ। बढ्दो मेमोरी मूल्यका कारण उत्पादक कम्पनीहरूको नाफामा दबाब परेको भन्दै बजार अनुसन्धान संस्था ओम्डियाले यस्तो जनाएको हो।

ओम्डियाका अनुसार हालका केही त्रैमासिकमा डीआरएएम र एनएएनडी मेमोरीको मूल्य तीव्र रूपमा बढेको छ र आगामी अवधिमा पनि मूल्य बढ्ने क्रम जारी रहने अपेक्षा गरिएको छ। यसले विशेषगरी मध्यम तथा सस्तो स्मार्टफोनमा ठूलो असर पारेको छ। त्यसकै कारण ४०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको बजार यस वर्ष वार्षिक रूपमा २२ प्रतिशतभन्दा बढी घट्ने अनुमान गरिएको हो।

ओम्डियाका अनुसार सन् २०२५ को तेस्रो त्रैमासिक र २०२६ को पहिलो त्रैमासिकबीचको बिल अफ मटेरियल (बीओएम) लागत संरचनाको तुलना गर्दा, ४०० डलरभन्दा कम मूल्यका स्मार्टफोनमा मेमोरी लागतको हिस्सा झन्डै दोब्बर भएको छ भने ४०० डलरभन्दा माथिका स्मार्टफोनमा पनि यो १०० प्रतिशतभन्दा बढीले बढेको छ।

टेलिकम्स डटकमका अनुसार २०२६ को पहिलो त्रैमासिकमा ४०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको कुल बीओएम लागतको झन्डै ६० प्रतिशत मेमोरी लागतले ओगटेको थियो। ९९ डलरभन्दा कम मूल्यका स्मार्टफोनमा भने यो हिस्सा ६४ प्रतिशतभन्दा बढी पुगेको थियो।

स्मार्टफोन उत्पादकहरूले डिस्प्ले प्यानल, सेन्सर र रेडियो फ्रिक्वेन्सी (आरएफ) मोड्युलजस्ता पर्याप्त आपूर्ति भएका अन्य कम्पोनेन्टको लागत घटाएर दबाब कम गर्ने प्रयास गरिरहेका छन्।

ओम्डियाका अनुसार सस्तो स्मार्टफोनहरू सुरुदेखि नै निकै सीमित लागत संरचनामा डिजाइन गरिएकाले मेमोरी लागत बढ्दा अन्य क्षेत्रको खर्च घटाएर त्यसको भरपाई गर्न कठिन हुन्छ।

ओम्डियाले मेमोरीको मूल्य अझै बढ्ने भएकाले अवस्था थप जटिल बन्ने जनाएको छ। खुद्रा मूल्य बढाए पनि ट्रान्ससियन, ओप्पो, भिभो, अनर र शाओमीजस्ता कम्पनीले निकै कम नाफामात्र कायम राख्न सक्ने विश्लेषण गरिएको छ।

ओम्डियाले मूल्य बढेपछि सस्तो स्मार्टफोन खरिद गर्ने उपभोक्ता मूल्यप्रति बढी संवेदनशील हुने भएकाले मागमा उल्लेख्य गिरावट आउने जनाएको छ।

आगामी त्रैमासिकमा मेमोरी मूल्यको प्रवृत्तिअनुसार सस्तो स्मार्टफोनबाट नाफा कमाउन कठिन बन्दै गएको र खुद्रा मूल्य बढ्दै जाँदा माग कमजोर हुने उच्च जोखिम रहेको संस्थाको भनाइ छ। त्यसैले स्मार्टफोन उत्पादकहरूले यस वर्षदेखि सस्तो बजार खण्डबाट क्रमशः पछि हट्न थालेका छन्।

४०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको बिक्रीमा यस वर्ष अनुमान गरिएको २२ प्रतिशत गिरावटले समग्र स्मार्टफोन बजारलाई १२ प्रतिशतले घटाउने अनुमान गरिएको छ। तर ४०० डलरभन्दा माथिका स्मार्टफोनको बिक्री भने मजबुत रहने र सन् २०२६ मा ५.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

ओम्डियाका अनुसार उत्पादकहरूले मध्यम र प्रिमियम स्मार्टफोनमा ध्यान केन्द्रित गरिरहेका छन्। खुद्रा मूल्य बढ्दा ४०० डलरभन्दा माथिका स्मार्टफोनको हिस्सा पनि बढिरहेको छ। साथै, प्रिमियम स्मार्टफोन किन्ने उपभोक्ता मूल्यप्रति तुलनात्मक रूपमा कम संवेदनशील हुने बताइएको छ।

ओम्डियाले ६०० डलरभन्दा माथिका स्मार्टफोनमा मेमोरी लागतको हिस्सा कम हुने जनाएको छ। यस्ता स्मार्टफोनमा उच्चस्तरीय सिस्टम-अन-अ-चिप (एसओसी), डिस्प्ले र क्यामेरा मोड्युलले बीओएम लागतको ठूलो हिस्सा ओगट्ने भएकाले उत्पादकहरूले त्यहाँ लागत व्यवस्थापन गरेर मेमोरीको बढ्दो खर्चलाई केही हदसम्म सन्तुलन गर्न सक्ने उल्लेख गरिएको छ।

ओम्डियाले मेमोरी लागतले स्मार्टफोन उद्योगको अर्थतन्त्रलाई पुनः परिभाषित गरिरहेको अवस्थामा उत्पादकहरूले किफायती मूल्य, नाफा र उत्पादनको प्रतिस्पर्धात्मकताबीच अझ सावधानीपूर्वक सन्तुलन कायम गर्नुपर्ने जनाएको छ।

यता अर्को अनुसन्धान संस्था काउन्टरपोइन्टले पनि चीनको चार सातासम्म चल्ने ‘६१८’ किनमेल उत्सवका क्रममा यस्तै प्रवृत्ति देखिएको जनाएको छ।

काउन्टरपोइन्टका अनुसार बढ्दो मेमोरी लागतका कारण मूल्य वृद्धि भएपछि उक्त अवधिमा चीनमा स्मार्टफोन बिक्री वार्षिक रूपमा १३ प्रतिशतले घट्यो। बढ्दो लागतका कारण अघिल्ला वर्षको तुलनामा छुट तथा प्रचार अभियान कम भएकाले उपभोक्ताको माग अझ कमजोर बनेको जनाएको छ। हुवावे बाहेक सबै प्रमुख ब्रान्डको बिक्री वार्षिक रूपमा घटेको थियो।

हुवावेले २१ प्रतिशत बजार हिस्सा सहित पहिलो स्थान कायम गरेको थियो। कम्पनीको इन्जोय ९० प्रो म्याक्सले उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा धेरै बिक्री हुने मोडेल बनेको थियो। यसको सफलताको कारण लामो ब्याट्री आयु र मूल्यअनुसार राम्रो विशेषता भएको बताइएको छ। मेट ८० ले पनि प्रचार अभियान र प्रतिस्पर्धी मूल्यका कारण राम्रो प्रदर्शन गरेको काउन्टरपोइन्टले जनाएको छ।

मूल्य कटौतीका कारण एप्पल दोस्रो स्थानमा रहे पनि यसको बिक्री वार्षिक रूपमा ९ प्रतिशतले घटेको थियो। काउन्टरपोइन्टका अनुसार गत वर्ष यही अवधिमा आइफोन १६ सिरिजमा गरिएको आक्रामक छुट अभियानका कारण यस वर्ष तुलना कमजोर देखिएको हो।

काउन्टरपोइन्टले ६१८ किनमेल उत्सव र कलेज प्रवेश परीक्षापछि स्मार्टफोन अपग्रेड गर्ने पहिलो लहरका कारण जुन महिनामा मासिक रूपमा बजारमा सुधार देखिएको जनाएको छ। तर त्यसपछि बजार मौसमी रूपमा सुस्त हुने अपेक्षा गरिएको छ।

स्मार्टफोन उत्पादक र आपूर्ति शृंखलाका साझेदारहरूले वर्षको दोस्रो आधामा पनि मूल्य वृद्धि जारी रहने संकेत दिइरहेकाले अपग्रेड गर्न चाहने धेरै उपभोक्ताले ६१८ अवधिमै खरिद गरेका काउन्टरपोइन्टले जनाएको छ।

साथै, स्मार्टफोन उत्पादकहरूले नाफालाई प्राथमिकता दिँदै सावधानीपूर्ण रणनीति अपनाएका कारण यस वर्षको आपूर्ति योजना पनि घटाएका छन्। त्यसैले चीनको समग्र स्मार्टफोन बजारमा यस वर्ष दोहोरो अंकको गिरावट आउने अनुमान गरिएको छ।

काउन्टरपोइन्टले ह्वावेले किन सकारात्मक प्रदर्शन गर्न सफल भयो भन्ने स्पष्ट नभए पनि कम्पनीले बढ्दो मेमोरी लागत व्यवस्थापन गर्ने वा अन्य कम्पोनेन्टमा लागत बचत गर्ने उपाय अपनाएको हुन सक्ने उल्लेख गरेको छ। जे भए पनि बढ्दो मेमोरी मूल्यले स्मार्टफोन उद्योगमा पार्ने प्रभाव तत्काल कम हुने संकेत नदेखिएको विश्लेषण गरिएको छ।

प्रकाशित: २४ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार