आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सामाजिक सञ्जालमा राख्ने युवतीको साहसप्रति गृहमन्त्री गुरुङद्वारा सम्मान व्यक्त

  • Technology Khabar | २२ असार २०८३, सोमबार
आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सामाजिक सञ्जालमा राख्ने युवतीको साहसप्रति गृहमन्त्री गुरुङद्वारा सम्मान व्यक्त

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत ऋतु खनालले सार्वजनिक गरेको आफूमाथिको दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले आज आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमा स्टेटस राख्दै पीडित ऋतु खनालले साहसका साथ घटना सार्वजनिक गरेकोप्रति सम्मान व्यक्त गर्दै कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार तथा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य हुन नसक्ने बताएका हुन्।

उनले पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा चिन्ताको विषय भएको उल्लेख गर्दै यस्ता घटनाको घोर भर्त्सना गरेका छन्। साथै, दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुनबमोजिम कारबाही गरिने विषयमा सरकार दृढ रहेको स्पष्ट पारेका छन्।

गृहमन्त्रीले प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको जिम्मेवारी भएको उल्लेख गर्दै यौन हिंसाका सबै पीडितलाई नडराई आवाज उठाउन आग्रह गरेका छन्। “अन्याय सहेर बस्नुपर्दैन,” उनले आफ्नो सन्देशमा भनेका छन्।

यस्तै, आफूमाथि यौन दुर्व्यवहार भएको वा त्यस्तो घटना भएको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै कुनै कारणले उजुरी दर्ता गर्न असहजता वा समस्या सिर्जना भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई समेत जानकारी गराउन सकिने बताएका छन्।

उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य नहुने भन्दै त्यस्तो अवस्थामा समेत आवश्यक कारबाही गरिने गृहमन्त्री गुरुङले बताएका छन्।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार