काठमाडौं ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत सङ्कलित फारामहरूको कोडिङ/इडिटिङ र तथ्याङ्क प्रविष्टि कार्यका लागि करार सेवामा १८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
कार्यालयले आज एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन फाराम भरी राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंमा बुझाउनुपर्नेछ।
आवेदन फाराम nsonepal.gov.np तथा ec.nsonepal.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ। तोकिएको ढाँचा र प्रक्रिया नपुगेका आवेदनमाथि कुनै कारबाही नहुने जनाइएको छ।
सूचना अनुसार कोडरहरु ६० जना मागिएको छ जसको करार अवधि बढीमा ४ महिना रहेको छ। यसका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसबाहेक १२० जना डाटा इन्ट्री अपरेटर हरुका लागि आवेदन माग गरिएको छ जसको करार अवधि पनि बढीमा ४ महिना हुनेछ। यो पदका लागि इच्छुकको न्यूनतम शैक्षिक योग्यता १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण भएको हुनुपर्छ।
सूचना अनुसार छनोट प्रक्रिया कोडर पदका लागि सर्टलिस्ट र अन्तर्वार्ता तथा डाटा इन्ट्री अपरेटर पदका लागि सर्टलिस्ट, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मार्फत हुनेछ।
सूचनाअनुसार यी दुवै पदमा छानिएकाहरुको कार्यक्षेत्र राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा हुनेछ भने पद अनुसार नै कोडरले कोडिङ तथा डाटा इन्ट्री अपरेटरले तथ्याङ्क प्रविष्टि गर्ने काम गर्नुपर्ने हुन्छ।
इच्छुक व्यक्तिहरुले आगामाी साउन ५ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
प्रकाशित: २२ असार २०८३, सोमबार