काठमाडौं ।
विज्ञापन बोर्डले ऊर्जाशील पेय पदार्थ (इनर्जी ड्रिङ्क) को भ्रामक तथा अतिरञ्जित विज्ञापन नगर्न र नगराउन सम्बन्धित सबैमा निर्देशन जारी गरेको हो।
बोर्डले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै यसबारे जानकारी सार्वजनिक गरेको हो।
बोर्डले हाल विभिन्न सञ्चार माध्यमबाट बालबालिका, किशोरकिशोरी तथा युवालाई लक्षित गर्दै भइरहेको शारिरिक वा मानसिक क्षमता वृद्धि हुने, तुरुन्त ऊर्जा प्राप्त हुने, अध्ययन, खेलकुद वा कार्यसम्पादनमा असाधारण सुधार हुनेजस्ता भ्रामक, अतिरञ्जित वा आधारहीन विज्ञापन सामग्री उत्पादन, प्रकाशन, वितरण, प्रसारण वा प्रदर्शन नगर्न निर्देशन दिएको हो।
ऊर्जाशील पेय पदार्थ (इनर्जी ड्रिङ्क) तथा उच्च चिनीयुक्त पेय पदार्थको विज्ञापनमा उक्त वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर वा अवलम्बन गर्नु पर्ने चेतावनीमूलक सन्देश तथा विज्ञापनकर्ताको नाम, ठेगाना स्पष्टरूपमा अनिवार्य समावेश गराउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
कुनै पनि विज्ञापनमा स्वास्थ्यसम्बन्धी दाबी, पोषणसम्बन्धी दावी वा कार्यसम्पादनसम्बन्धी दावी गर्दा सम्बन्धित नियामक निकायबाट स्वीकृत तथा आधिकारिक रूपमा पुष्टि भएका तथ्य र प्रमाणका आधारमा मात्र विज्ञापन गराउनु पर्ने छ।
उल्लेखित प्रकृतिका भ्रामक, आधारहीन विज्ञापन गर्नु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, उपभोक्ता संरक्षण ऐन, २०७५ लगायतका प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुने भएकाले सम्बन्धित उत्पादक, आयातकर्ता, वितरक, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई बोर्डले सचेत गराएको छ।
प्रकाशित: २२ असार २०८३, सोमबार