काठमाडौं ।
हलिउडका तीन स्टुडियोसँग जारी कानुनी विवादका बीच एआई कम्पनी मिडजर्नीले ती स्टुडियोहरूले आफूहरूले कृत्रिम बुद्धिमत्ता (एआई) कसरी प्रयोग गरिरहेका छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
गत वर्ष डिज्नी र युनिभर्सलले मिडजर्नीविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। उनीहरूले मिडजर्नीका तस्बिर बनाउने एआई मोडलले बार्ट सिम्पसन र डार्थ भेडरजस्ता आफ्ना प्रतिलिपि अधिकार सुरक्षित पात्रहरूको तस्बिर बनाउन सक्ने दाबी गरेका थिए। केही महिनापछि वार्नर ब्रदर्स (वार्नर ब्रोज) ले पनि मिडजर्नीविरुद्ध मुद्दा दायर गरेको थियो।
टेकक्रञ्चका अनुसार मिडजर्नीले भने प्रतिलिपि अधिकार भएका पात्रहरूको तस्बिर प्रयोग गरेर एआई मोडललाई प्रशिक्षण दिनु ‘फेयर युज’ अन्तर्गत वैधानिक हुने तर्क गर्दै आएको छ।
हालको विवाद अदालतमा प्रमाण संकलनका क्रममा स्टुडियोहरूले उपलब्ध गराउनुपर्ने कागजातसँग सम्बन्धित छ। यसअघि एक न्यायाधीशले स्टुडियोहरूले आफ्नो जेनेरेटिभ एआई प्रयोगबारे जानकारी दिनुपर्ने आदेश दिएका थिए। तर यो दायित्व उपभोक्तासम्म पुग्ने भिडियो र तस्बिरसँग सम्बन्धित प्रयोगमा मात्र सीमित गरिएको थियो।
मिडजर्नीले आफ्नो पछिल्लो निवेदनमा उक्त सीमालाई हटाउन माग गर्दै यसले स्टुडियोहरूलाई आफ्नो पक्षमा जाने कागजात मात्र छनोट गरेर प्रस्तुत गर्न र मिडजर्नीको पक्षमा उपयोगी हुन सक्ने कागजात लुकाउन मिल्ने अवस्था सिर्जना गरेको दाबी गरेको छ।
कम्पनीले लुकाइएका कागजातले स्टुडियोहरूले बन्द कोठाभित्र आफूहरूले मिडजर्नीमाथि लगाएको आरोपजस्तै काम गरिरहेका छन् वा छैनन् भन्ने खुल्न सक्ने पनि जनाएको छ।
उदाहरणका रूपमा मिडजर्नीले स्टुडियोहरूले चलचित्र वा टेलिभिजन सामग्रीको स्टोरीबोर्ड तयार गर्न वा नयाँ सामग्रीको अवधारणा बनाउन आन्तरिक रूपमा तस्बिर बनाउने एआई मोडल विकास गरिरहेका भए, त्यसले अनुमति नलिइएका प्रतिलिपि अधिकार भएका सामग्री प्रयोग गरेर एआईलाई प्रशिक्षण दिनु उद्योगकै सामान्य अभ्यास रहेको प्रमाणित गर्न सक्ने दाबी गरेको छ।
मिडजर्नीले अदालतमा दिएको निवेदनमा स्टुडियोहरूले मिडजर्नी प्रयोग गर्दा प्रयोग गरेका सबै प्रम्प्ट र त्यसबाट बनेका सबै नतिजा पनि सार्वजनिक गर्नुपर्ने माग गरेको छ। हाल स्टुडियोहरूले प्रतिलिपि अधिकार उल्लंघन भएको दावी गरिएका तस्बिरसँग सम्बन्धित प्रम्प्ट मात्र प्रस्तुत गरेका छन्।
स्टुडियोहरूको तर्फबाट बहस गरिरहेका मुख्य वकिल डेभिड सिङ्गरले यसअघि मिडजर्नीले यस्ता कागजात माग्नु आधारहीन रूपमा प्रमाण खोज्ने प्रयास भएको बताएका थिए।
उनले स्टुडियोहरूको उद्देश्य एआई प्रविधि रोक्नु वा मिडजर्नीको व्यवसाय बन्द गराउनु नभई, अनुमति बिना आफ्ना चलचित्र, टेलिभिजन कार्यक्रम र चर्चित पात्रहरूको प्रतिलिपि बनाउने, सार्वजनिक रूपमा प्रदर्शन गर्ने तथा तिनमा आधारित नयाँ सामग्री सिर्जना गर्ने कार्य रोक्नु मात्र रहेको बताएका छन्।
प्रकाशित: २२ असार २०८३, सोमबार