जर्मन कम्पनीद्वारा सवारीसाधनको आवाज कम गर्ने नयाँ प्रणाली सार्वजनिक

  • Technology Khabar | २१ असार २०८३, आईतवार
जर्मन कम्पनीद्वारा सवारीसाधनको आवाज कम गर्ने नयाँ प्रणाली सार्वजनिक

काठमाडौं ।

जर्मनीको कम्पनी जेडएफले लस भेगासमा आयोजित सीईएस प्रदर्शनीमा सवारीसाधनको आवाज कम गर्ने नयाँ प्रणाली सार्वजनिक गरेको छ। यसले सवारी चलाउँदा हुने असहज आवाज घटाएर यात्रालाई थप सहज बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यो प्रणालीले टायरभित्रको हावाको कम्पनबाट उत्पन्न हुने र च्यासिसमार्फत सवारीको भित्री भागसम्म पुग्ने ‘क्याभिटी न्वाइज’ लाई कम गर्ने काम गर्छ।

टेलिग्राफका अनुसार परम्परागत प्रणालीमा जस्तो अतिरिक्त स्पिकर वा माइक्रोफोन प्रयोग नगरी, यस प्रविधिले च्यासिसमा पहिले नै रहेका सेन्सर र एक्टुएटरको प्रयोग गरेर कम्पन पत्ता लगाउने र त्यसलाई नियन्त्रण गर्ने गर्छ।

सेन्सरबाट प्राप्त जानकारीलाई एल्गोरिदमले प्रशोधन गरी त्यसको विपरीत प्रतिक्रिया दिने संकेत तयार गर्छ। ती संकेत सेमी–एक्टिभ ड्याम्परमा पठाइन्छन्, जसले सानो–सानो चालमार्फत आवाज कम गर्छ।

जेडएफका अनुसार हाल यो प्रणालीले तीन डेसिबलसम्म आवाज घटाउन सक्छ। आगामी सुधारपछि यसलाई १० डेसिबलसम्म पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ। यसको व्यावसायिक उत्पादन सन् २०२८ देखि सुरु हुने अपेक्षा गरिएको छ।

यसका साथै कम्पनीले ‘एआई रोड सेन्स’प्रणाली पनि सार्वजनिक गरेको छ। यसले कृत्रिम बुद्धिमत्ता र सेन्सरहरू (उन्नत संस्करणमा लाइडार समेत) को प्रयोग गरी सडकको अवस्थाअनुसार सवारीको सस्पेन्सनलाई वास्तविक समयमा स्वचालित रूपमा समायोजन गर्छ।

प्रकाशित: २१ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार