विज्ञापनको बहाव डिजिटल माध्यम र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यममा घट्दै गयो: विज्ञापन संघ

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
विज्ञापनको बहाव डिजिटल माध्यम र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यममा घट्दै गयो: विज्ञापन संघ

काठमाडौं ।

नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सबको मनाउने क्रममा आयोजित मन्थ अफ क्रियटिभिटी कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय शीर्षकमा एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली मिडिया र विज्ञापन बजारमा विकसित भइरहेका नयाँ आयाम र चुनौतीहरू माथि सम्बन्धित क्षेत्रका दक्ष, र अनुभवी विज्ञहरुले छलफल तथा विचार विमर्श गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती र ती चुनौतीहरूलाई अवसरमा बदल्न नेपाली विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरूले चालेका सकारात्मक कदमहरू बारे विशेष चर्चा भएको थियो।

उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यमहरू (टेलिभिजन, प्रिन्ट र रेडियो)मा आउने विज्ञापनको हिस्सा घट्दै गएको र बजार असन्तुलित बनेको कुरालाई मुख्य चुनौतीको रूपमा औँल्याइएको थियो।

नेपालमा एआई, डाटामा आधारित मार्केटिङ र डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहनु र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडल विज्ञापन क्षेत्रको अर्को ठूलो चुनौतीका रुपमा छलफलमा सहभागिहरुको ठम्याई रहेको छ।

यी तमाम चुनौतीहरूका बीच पनि नेपाली विज्ञापन एजेन्सी र उद्यमीहरूले परम्परागत शैलीलाई छोडेर द्रुत गतिमा डिजिटल र इन्फ्लुएन्सर मार्केटिङलाई अँगाल्दै नेपाली बजार अनुकूल र स्थानीय भाषा–संस्कृति सुहाउँदो सिर्जनशील डिजिटल सामग्री निर्माणमा व्यवसायीहरूले सक्रियता बढाएकोमा विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरुको सकारात्मकतालाई सराहना गरिएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक जस्ता अत्याधुनिक प्रविधिले ल्याउन सक्ने भ्रामक विज्ञापनको जोखिमलाई न्यूनीकरण गर्न जोड नेपालका विज्ञापन पशाकर्मीहरूले आचारसंहिता निर्माण, स्वनियमन र नवप्रवर्तनकारी प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनु पर्ने कुरा समेत छलफलमा सहभागिहरुले औँल्याएका थिए।

छलफल पश्चात कार्यक्रममा संघको सदस्य एजेन्सी एडसारो नेपाल प्रा. लि.का अध्यक्ष सुजन अधिकारीले विज्ञापनमा आधुनिक प्रविधिको प्रयोग सहित डिजिटल प्लेटफर्महरुमा विज्ञापन वितरण गर्ने सम्बन्धी कम्पनीले विकास गरेको प्रविधि र त्यसका उपयोगिताहरुका बारेमा एक विशेष प्रस्तुतिकरण दिएका थिए।

‘मिडिया स्टेक होल्डर आफ्नो स्थानमा छ। हामी अकाउन्टेबल छौँ। अब प्रविधि मैत्री भएर जाने हो। हामीलाई उपभोक्तासँग पुग्न प्रविधि उपयोगी हुनेछ। सरकाले विज्ञापन नीति पारित गर्यो। यसले भेरिफिकेसनका विषयलाई पनि सहयोग गर्नेछ। आएको नीतिले हाम्रो उद्योगलाई सहयोग गर्ने अपेक्षा गरेका छौँ’, आनका अध्यक्ष सुदिप थापाले बताए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यानल छलफलको सहजीकरण टेक्नोलाजीखबर डट कमका प्रधान सम्पादक अनुज राज ढुङ्गेलले सहजीकरण गरेका थिए भने छलफलमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बार्हखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य र र सारस बेभसेज रेडबुल नेपालका सेल्स एण्ड मार्केटिंग प्रमुख निर्भिक प्रधानको उपस्थिति थियो।

कार्यक्रमको अन्त्यमा, एडसारो नेपालले बिकास गरेको प्रबिधिले बिज्ञापन उद्योगलाई मात्र नभएर समग्र नेपाली मिडिया तथा विज्ञापनदाताहरुलाई समेत सजिलो, किफायती हुनुका साथै विज्ञापनको प्रभावकारीता मापन र पारदर्शीताको बिकास गर्न सहयोग पुग्ने कुरा व्यक्त गरे।

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार