काठमाडौं ।
विद्युतीय भोटिङ मेशिन विकासकर्ता रामलक्ष्मण रिमालले गत आषाढ ७ गते चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको मेशिन तथा प्रविधि निष्पक्ष र पारदर्शी भएको जनाएका छन्।
नेपालमै विकास गरिएको नवप्रवर्तनबारे पर्याप्त तथ्य र प्राविधिक यथार्थभन्दा फरक ढंगले प्रस्तुत गरिएका केही समाचारका कारण आम नागरिकमा भ्रम उत्पन्न भएको देखिएको उनीहरुको बुझाई छ। रिमालद्वयले हालै एक विज्ञप्ति प्रकाशित गरी यसबारे जानकारी गराएका हुन्।
‘हाम्रो उद्देश्य केवल राजनीतिक दल वा संस्थागत निर्वाचनलाई सहज बनाउनु मात्र होइन, भविष्यमा राष्ट्रिय तथा स्थानीय तहका निर्वाचनसमेत छलछामरहित, पारदर्शी, सुरक्षित, विश्वसनीय र द्रुत रूपमा सञ्चालन गर्न सक्ने नेपाली प्रविधिमा आधारित विद्युतीय मतदान प्रणाली विकास गर्नु हो’, विज्ञप्तिमा उल्लेख छ।
नेपालमै विकसित यस प्रविधिबारे तथ्यपरक जानकारी सार्वजनिक गर्नु प्राविधिक पक्ष स्पष्ट पार्नु तथा आम नागरिकमा देखिएका जिज्ञासा र भ्रमको निराकरण गर्नु मात्र भएको प्रस्ट्याइएको छ।
संस्थाका अनुसार वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनका क्रममा भारतबाट ल्याइएको विद्युतीय मतदान उपकरण प्रयोग गरिएकोमा त्यसपछिका निर्वाचनहरूमा राजनीतिक दलहरूको संख्या बढ्दै जाँदा उक्त उपकरणमा आवश्यक संख्याका उम्मेदवार समेट्न नसक्ने प्राविधिक सीमाका कारण यसको प्रयोग निरन्तर हुन सकेन।
यसै आवश्यकता र चुनौतीलाई मध्यनजर गर्दै नेपालमै उपयुक्त सुरक्षित तथा बहुउद्देश्यीय विद्युतीय मतदान प्रणाली विकास गर्ने अभियान प्रारम्भ गरेको संस्थाको भनाई छ।
संस्थाका अनुसार विगत १३ वर्षको निरन्तर अनुसन्धान परीक्षण र परिमार्जनपछि विकसित विद्युतीय मतदान प्रणालीमार्फत हालसम्म करिब ३०० वटा विभिन्न प्रकृतिका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
यी निर्वाचनहरूमा जटिल बहुपद बहुचरणीय तथा उच्च प्रतिस्पर्धात्मक निर्वाचनसमेत समावेश छन्। हालसम्म सम्पन्न सबै निर्वाचनमा मतदान गणनाको १०० प्रतिशत शुद्धता र विश्वसनीयता कायम भएको छ।
‘रास्वपा महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको मतदान प्रणाली, मेशिन तथा हाम्रो तर्फबाट प्रदान गरिएको प्राविधिक सेवाका सम्बन्धमा हामीले शतप्रतिशत पारदर्शिता, निष्पक्षता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेका छौं। यस प्रविधि वा सेवासम्बन्धी कुनै जिज्ञासा, प्रश्न वा गुनासो भएमा प्रविधि विकासकर्ताका रूपमा हामी जहाँसुकै, जुनसुकै मञ्चमा पनि आवश्यक स्पष्टीकरण र उत्तर दिन सदैव तयार छौं’, रिमालद्वयले प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १८ असार २०८३, बिहीबार