काठमाडौं ।
अमेरिकी सरकारले साइबर सुरक्षासम्बन्धी केही संस्थालाई एन्थ्रोपिक कम्पनीको उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल मिथोस–५ मा सीमित पहुँच दिन अनुमति दिएको कम्पनीले जनाएको छ।
राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अमेरिकी अधिकारीहरूले यसअघि उक्त एआई मोडेलमा पहुँच रोक लगाएका थिए। एन्थ्रोपिकले भने सुरक्षा उपाय सुधारपछि सीमित प्रयोगका लागि पहुँच पुनः खुला गरिएको जनाएको छ।
कम्पनीका प्रवक्ताका अनुसार एन्थ्रोपिकले अमेरिकी प्रशासनसँग मिथोस–५ को पहुँच विस्तार तथा अर्को एआई मोडेल फेबल–५ लाई सर्वसाधारणका लागि पुनः उपलब्ध गराउने विषयमा छलफल जारी राख्नेछ।
यसअघि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै अमेरिकी सरकारले जून १२ मा एन्थ्रोपिकका दुई अत्याधुनिक एआई मोडेलमा पहुँच रोक्न निर्देशन दिएको थियो। उक्त कदमले सरकारी हस्तक्षेपसम्बन्धी बहससमेत चर्किएको थियो।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एन्थ्रोपिकले सरकारसँग सहकार्य गर्दै एआई मोडेलसँग सम्बन्धित जोखिम घटाउन काम गरेको बताए। उनले सुरक्षासम्बन्धी प्रयासमा उल्लेखनीय प्रगति भएको उल्लेख गरे।
वाणिज्य विभागका प्रवक्ता बेनो कासले अमेरिकाले सुरक्षा सुनिश्चित गर्दै एआई क्षेत्रमा विश्व नेतृत्व कायम राख्न काम गरिरहेको बताए।
यसअघि एन्थ्रोपिकले आफ्नो प्रविधि व्यापक निगरानी तथा स्वचालित हतियार प्रणालीमा प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी रक्षा निकायसँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।
यसैबीच एन्थ्रोपिकको प्रतिस्पर्धी कम्पनी ओपनएआईले पनि आफ्नो नयाँ एआई मोडेल सीमित पहुँचसहित सार्वजनिक गरेको छ। ओपनएआईका प्रमुख साम अल्टम्यानले सरकारले अपनाएको प्रक्रिया पूर्ण रूपमा उपयुक्त नभए पनि कठिन परिस्थितिमा काम गरिरहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुआतमा उन्नत एआई प्रणाली सार्वजनिक हुनुअघि राष्ट्रिय सुरक्षा जोखिमको समीक्षा गर्ने व्यवस्था सम्बन्धी कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेश कार्यान्वयनको विस्तृत प्रक्रिया भने अझै स्पष्ट गरिएको छैन। रासस/एएफपी
प्रकाशित: १३ असार २०८३, शनिबार