काठमाडौं ।
स्पेनको भोडाफोनले सन् २०२७ मा सिधै डिभाइसमा आधारित (डाइरेक्ट–टु–डिभाइस/डीटूडी) सेवा सुरु गर्ने लक्ष्यसहित स्याटेलाइट कनेक्ट यूरोपसँग सम्झौता गरेको छ।
दुवै कम्पनीले बिहीबार स्पेनमा व्यावसायिक डीटूडी सेवा सुरु गर्ने उद्देश्यले व्यावसायिक सम्झौता भएको जानकारी दिएका हुन्। यससँगै स्पेनका चार मोबाइल नेटवर्क अपरेटरमध्ये तीनवटा कम्पनीले स्याटेलाइट कनेक्ट यूरोपसँग डीटूडी सेवाका लागि सहकार्य गरेका छन्।
यसअघि टेलिफोनिका र मासअरेञ्जले पनि यस वर्षको सुरुमा उक्त स्याटेलाइट कम्पनीसँग सहकार्य गरिरहेको घोषणा गरेका थिए, तर त्यतिबेला व्यावसायिक सम्झौता भने गरेका थिएनन्।
स्याटेलाइट कनेक्ट यूरोप भोडाफोन समूह र एएसटी स्पेसमोबाइलले फेब्रुअरीमा स्थापना गरेको खुला पहुँचमा आधारित डीटूडी सेवा प्रदायक संयुक्त कम्पनी हो।
टेलिकम्स डटकमका अनुसार भोडाफोन स्पेन दुई वर्षअघि जेगोना कम्युनिकेशन्सले अधिग्रहण गरेपछि भोडाफोन समूहको हिस्सा रहेन। त्यसैले ग्राहकका रूपमा भोडाफोन स्पेनलाई सम्झौतामा ल्याउन सफल हुनु स्याटेलाइट कनेक्ट यूरोपका लागि उपलब्धिका रूपमा हेरिएको छ।
भोडाफोन स्पेनले आफ्नो डीटूडी सेवा विकासको काम तत्काल सुरु गर्ने जनाएको छ। कम्पनीले आगामी केही साताभित्र व्यवसाय, सार्वजनिक निकायलगायत प्रमुख साझेदारसँग छलफल सुरु गरी डीटूडी सेवाका विभिन्न प्रयोग विकास गर्ने योजना बनाएको छ। यसमा विशेषगरी आपतकालीन सेवा, सुरक्षा, रक्षा, कृषि, उद्योग, समुद्री क्षेत्र तथा ग्रामीण क्षेत्रमा नेटवर्क पहुँच विस्तारमा ध्यान दिइनेछ।
तर भोडाफोनको प्रयास मात्र सेवा सञ्चालनका लागि पर्याप्त हुने छैन।
कम्पनीहरूले उपभोक्ता र व्यवसायिक ग्राहकका लागि सन् २०२७ मा सेवा सुरु गर्ने लक्ष्य राखेको बताएका छन्। तर वास्तविक सेवा सुरु हुने समय सम्बन्धित नियामकीय व्यवस्था पूरा हुने प्रक्रियामा निर्भर रहने उनीहरूको भनाइ छ।
यसका साथै एएसटी स्पेसमोबाइलले निर्माण गरिरहेको लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट पूर्वाधार पनि महत्त्वपूर्ण रहनेछ।
गत अप्रिलमा कम्पनीको ब्लुबर्ड ७ स्याटेलाइट प्रक्षेपण असफल भएको थियो। ब्लु ओरिजिनले स्याटेलाइटलाई सही कक्षामा राख्न नसक्दा उक्त स्याटेलाइट हराएको थियो। त्यसपछि कम्पनीले सन् २०२६ को अन्त्यअघि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य पूरा हुन्छ कि हुँदैन भन्नेमा प्रश्न उठेको थियो।
क्यानडाको टेलस प्रारम्भिक ग्राहक हुने अपेक्षा गरिएको छ। यद्यपि एएसटी स्पेसमोबाइलले बीमाले हराएको स्याटेलाइटको क्षति व्यहोर्ने र आगामी ब्लुबर्ड स्याटेलाइटहरू योजनाअनुसार कक्षामा पठाउने जनाएको थियो।
कम्पनीले वर्षको अन्त्यसम्म कक्षामा रहने स्याटेलाइटको लक्ष्य ४५ मा सीमित गरेको छ। यसअघि ४५ देखि ६० स्याटेलाइट पुर्याउने लक्ष्य राखिएको थियो।
त्यसयता कम्पनीले जुन महिनामा स्पेसएक्समार्फत प्रक्षेपण गरिएका ब्लुबर्ड ८, ९ र १० सफलतापूर्वक कक्षामा स्थापित गरिसकेको छ। यसै साताको सुरुमा एएसटी स्पेसमोबाइलले ब्लुबर्ड ११, १२ र १३ आगामी अगस्टको पहिलो आधामा स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिने घोषणा गरेको थियो।
एएसटी स्पेसमोबाइलका अध्यक्ष स्कट विस्निएभ्स्कीले ब्लुबर्ड ११, १२ र १३ ले व्यावसायिक सेवा सुरु गर्ने तयारीमा अर्को महत्त्वपूर्ण उपलब्धि हुने बताए। उनले ब्लुबर्ड ३७ सम्मका स्याटेलाइट उत्पादन र संयोजन भइरहेको उल्लेख गर्दै कम्पनीले विश्वभर नेटवर्क विस्तारलाई निरन्तर अघि बढाइरहेको बताए।
तर उनले वर्षको अन्त्यसम्म ४५ स्याटेलाइट कक्षामा पुर्याउने लक्ष्यबारे भने कुनै उल्लेख गरेनन्।
कम्पनीले प्रक्षेपणको समय प्रक्षेपण प्रदायकको तयारी, मौसम र कम्पनीको नियन्त्रणबाहिर रहेका अन्य कारणका आधारमा परिवर्तन हुन सक्ने जनाएको छ।
भोडाफोन स्पेनले सुरुदेखि नै सन् २०२७ मा सेवा सुरु गर्ने योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ एएसटी स्पेसमोबाइलको स्याटेलाइट समूहमा आधारित पहिलो व्यावसायिक सेवा पनि सम्भवतः अर्को वर्ष मात्रै उपलब्ध हुन सक्ने देखिएको छ।
प्रकाशित: १३ असार २०८३, शनिबार