काठमाडौं ।
नेपाल टेलिकमलाई आधुनिक, डिजिटल तथाग्राहक केन्द्रित सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप संस्थागत सुधार तथा डिजिटल रूपान्तरणका विभिन्न पहलहरू कार्यान्वयन भइरहेका छन्।
यसक्रममा आन्तरिक कार्यप्रणालीलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा स्वचालित बनाउन विभिन्न इन–हाउस सफ्टवेयर प्रणालीहरूको विकास तथा कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। यस्ता प्रणालीहरूले कार्यसम्पादनमा दक्षता अभिवृद्धि, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता तथा सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपाल टेलिकमले केन्द्रीय कार्यालयदेखि क्षेत्रीय निर्देशनालय तथा मातहतका कार्यालयहरू सम्मको सम्पूर्ण खरिद प्रक्रियालाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न आन्तरिक प्रक्युरमेन्ट म्यानेजमेन्ट सिस्टम (Procurement Management System (PMS) विकास गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
नेपालको सार्वजनिक खरिदका विभिन्न पक्षहरुलाई मध्यनजर गर्दै निर्माण गरिएको यस प्रणालीबाट कम्पनीले गर्ने सार्वजनिक खरिद कार्यका विभिन्न चरण, सम्झौता र सो पश्चातका चरणहरुको प्रभावकारी ब्यवस्थापन हुने भएकोले आगामी दिनमा कम्पनीका काम कारवाही, सम्झौतापछिको कार्यान्वयन, अनुगमन आदि परिस्कृत हुने देखिन्छ। कम्पनीका आफ्नै जनशक्ति तथा प्राविधिक दक्षताको उपयोग गरी विकास गरिएको सो प्रणालीले खरिद प्रक्रियामा पारदर्शिता, एकरूपता, अभिलेखीकरण तथा कार्यकुशलता अभिवृद्धि गर्नुका साथै प्रक्रियागत ढिलाइ न्यूनीकरण गरी सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख छ।
त्यसैगरी, कम्पनीका सेवाहरुको प्रभावकारी सञ्चालनका लागि आवश्यक मर्मत सम्भार कार्यलाई व्यवस्थित तथा प्रभावकारी बनाउन ड्यूटी चार्ज म्यानेजमेन्ट सिस्टम (Duty Chart Management System) समेत सञ्चालनमा आएको छ। देशभरका विभिन्न कार्यालयको सिफ्ट ड्युटी ब्यवस्थापन र ड्युटीमा रहने जनशक्तिको समग्र जानकारी यसबाट लिन सकिन्छ। यसबाट निश्चित समयमा कुनै कार्यालयमा ड्युटीमा रहेका जनशक्ति र तिनको कार्यका वारेमा जानकारी लिन सकिनुका साथै आवश्यकता अनुसार कल गर्नका लागि सम्पर्क नम्बर र अन्य जानकारी समेत यहीबाट पाउन सकिन्छ।
कम्पनीले समय समयमा गर्ने विभिन्न बैठक, छलफल आदिलाई व्यवस्थित गर्नका लागि मिटिङ्ग म्यानेजेमेन्ट सिस्टम (Meeting Management System) सञ्चालनमा ल्याइएको छ। यसमा बैठकका लागि निर्धारित एजेन्डा, बैठकमा उपस्थित हुने सदस्य र आमन्त्रित सदस्य तथा बैठकको माइन्युट लेख्नका लागि आवश्यक फम्र्याट समेत उपलब्ध हुन्छ। यसबाट कुनै पनि बैठकलाई सहजीकरण गर्न र रेकर्ड राख्न समेत सहज हुन्छ। साथै, सम्बन्धित ब्यक्तिहरुलाई मिटिङ सम्बन्धमा एसएमएस/ईमेल मार्फत समेत जानकारी उपलब्ध गराउने र रिमाइन्डर नोटिफिकेसन समेत उपलब्ध गराउने ब्यवस्था रहेको छ। भविष्यमा यही सिस्टमबाट नै Online Meeting/Video Conferencing आदि गर्न सकिने व्यवस्था समेत हुने गरी हाल कार्य भइरहेको कम्पनीको भनाई छ।
यी सबै सफ्टवेयर नेपाल टेलिकमका आफ्नै आन्तरिक जनशक्तिद्वारा विकास गरिएका हुन्। हाल सञ्चालनमा आएका यी सफ्टवेयर बाहेक नेपाल टेलिकममा पहिले देखि नै सञ्चालनमा रहेका यस्ता अन्य विभिन्न सफ्टवेयर छन्। यी सफ्टवेयरहरु समयक्रम अनुसार परिमार्जित भएर अझै प्रभावकारी रुपमा क्रियाशील समेत हुनेछन्।
एफटीटीएच नेटवर्कको CPE configuration गर्ने, ग्राहकको माग संकलन गर्ने, गुनासो संकलन गर्ने लगायतका कार्यमा अन्तरिक रुपमा बनाएका सफ्टवेयरहरुको प्रयोग हुँदै आएको छ। यसका साथै ट्रान्समिसन नेटवर्कको मनिटरिङ्ग गर्न कम्पनीले Cacti, Nagios, Smokeping जस्ता ओपन सोर्स टूलहरु प्रयोग गर्दै आइरहेको छ।
हाल टिकेटिङ्ग सम्बन्धी कार्यलाई अगाडि बढाउन जीएमसीसी, ओटीआरएस तथा अन्य अन्तरिक टिकेटिङ्ग सिस्टमको प्रयोग हुँदै आएको छ । विभिन्न कोर, र्यान, ट्रान्समिसन, एक्सेस नेटवर्कको मनिटरिङ्ग तथा रिपोर्टिङ्गलाई अटोमेटिक गर्न पनि विभिन्न विभागहरुले आ–आफ्नै सफ्टवेयर क्यातधबचभ तथा टूलहरुको प्रभावकारी प्रयोग गर्दै आइरहेका छन्।
ग्राहकले एसईई तथा प्लस २ को परीक्षाफल हेर्ने, सीयूजीको जानकारी प्राप्त गर्ने, अनलाइन रिचार्ज गर्ने, पिन बिग्रेको रिचार्ज कार्ड बाट रिचार्ज गर्ने लगायतका कार्यहरुमा पनि विभिन्न इन हाउस टूलहरुको प्रयोग हुँदै आइरहेको छ।
ओपन सोर्स जाबिक्स, नेटबक्स जस्ता टूलको प्रयोग गरी आईएनओसीले प्रभावकारी रुपमा चौबिसै घण्टा, सातै दिन नेपाल टेलिकमको नेटवर्क अनुगमन गरिरहेको छ। मोबाइल र अन्य सेवाका लागि आवश्यक साइटहरुको जानकारी लिनका लागि साइट म्यानेजमेन्ट लगायतका पोर्टलहरु प्रयोग हुँदै आएको छ। यसमा टावर साइट म्यानेजमेन्ट, डिमान्ड साइट म्यानेजमेन्ट अन एयर स्ट्याटस लगायतका विभिन्न जानकारी लिन सकिन्छ। कम्पनीले गरिरहेको गुणस्तर सुधार सम्बन्धी कार्य र नेपाल सरकारको ‘हेलो सरकार’ सँग सम्बन्धित नेपाल टेलिकमले गरेको गुनासो व्यवस्थापनको कार्य समेत हेर्नका लागि आवश्यक व्यवस्था गरिएको छ। आगामी दिनमा मानव संसाधन, वित्त, व्यापार लगायतका विभिन्न ड्यासबोर्ड समेत यसमा संलग्न गरिने छ।
त्यसैगरी, नेपाल टेलिकममा सञ्चालनमा रहेका सम्पूर्ण नेटवर्क तथा सूचना प्रविधिसम्बन्धी उपकरणहरूको एकीकृत व्यवस्थापनका लागि युनिफाइड टिकेटिङ्ग सिस्टम (Unified Ticketing System) विकासको कार्य प्रगतिमा रहेको छ। यस प्रणालीमार्फत उपकरणसम्बन्धी समस्या तथा सेवा अवरोधहरूको दर्ता, ट्र्याकिङ, समाधान तथा विश्लेषणलाई एकीकृत रूपमा व्यवस्थापन गर्न सकिनेछ। साथै, ग्राहक गुनासो दर्ता, गुनासोको अवस्थाबारे जानकारी, समाधान प्रक्रिया तथा ग्राहक गुनासो समाधान भएको अवस्थालाई समेत एउटै प्रणालीमा समेटिने भएकाले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी तथा ग्राहकमैत्री बनाउन सहयोग पुग्नेछ।
यसैगरी, कार्यालयमा हुने सेवाप्रवाहलाई पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गरी कागजरहित, पारदर्शी तथा कार्यकुशल कार्य वातावरण निर्माण गर्न वर्कफ्लो म्यानेजमेन्ट सिस्टम (Workflow Management System) को विकास कार्य पनि अगाडि बढाइएको छ। यस प्रणालीमार्फत विभिन्न प्रशासनिक तथा प्राविधिक प्रक्रियाहरू स्वचालित रुपमा हुनुका साथै फाइल तथा निर्णय प्रक्रियाको डिजिटल व्यवस्थापन, कार्यको वास्तविक समयमै अनुगमन तथा उत्तरदायित्व सुनिश्चित गर्न सहज हुनेछ।
यी डिजिटल प्रणालीहरूको विकास तथा कार्यान्वयनले नेपाल टेलिकमको संस्थागत सुशासन, कार्यकुशलता, पारदर्शिता तथा सेवा गुणस्तर अभिवृद्धि गर्दै कम्पनीलाई आधुनिक डिजिटल सेवा प्रदायकको रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: ११ असार २०८३, बिहीबार