मंगल ग्रहको लागि बनाइएको नासाको एउटा रोभर अब चन्द्रमामा जाने सम्भावना

  • Technology Khabar | २५ श्रावण २०८३, सोमबार
मंगल ग्रहको लागि बनाइएको नासाको एउटा रोभर अब चन्द्रमामा जाने सम्भावना

काठमाडौं ।

के तपाईंलाई थाहा छ, क्युरियोसिटी र पर्सिभरेन्स रोभरका पूर्ण आकारका प्रतिरूप पृथ्वीमै छन्? वैज्ञानिकहरूले मंगल ग्रहमा रहेका रोभरमा नयाँ सुविधा र अपडेट पठाउनुअघि तिनको परीक्षण गर्न यी प्रतिरूप प्रयोग गर्छन्।

यी प्रतिरूप मंगल ग्रहका रोभरको परीक्षणका लागि पृथ्वीमै राख्ने उद्देश्यले बनाइएका थिए। तर अब नासाले तीमध्ये एउटालाई वा दुवैको विशेषता समेटिएको नयाँ रोभरलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

प्रोमिस रोभर

जुनको अन्त्यमा नासाले प्रोमिस नामक रोभर चन्द्रमाको सतहमा पठाउने नयाँ प्रस्ताव सार्वजनिक गरेको थियो। प्रोमिस को पूरा नाम पोलर रोभर फर अब्जरभेसन, म्यापिङ एण्ड इन-सिटु एक्स्प्लोरेशन हो।

आर्स टेक्निका, बीबीसी र कार्ल सागनले स्थापना गरेको गैरसरकारी संस्था द प्लानेटरी सोसाइटीका अनुसार यो रोभर पर्सिभरेन्सको इन्जिनियरिङ परीक्षण मोडललाई पुनः प्रयोग गरेर बनाइनेछ।

इन्ग्याजेटका अनुसार नासाले यस परियोजनाबारे सार्वजनिक गरेको भिडियोमा पर्सिभरेन्स मंगल ग्रहमा अवतरण गरेको दृश्य देखाइएको छ र त्यसपछि पृथ्वीमा रहेको यसको प्रतिरूप देखाइएको छ।

तर नासाको घोषणामा नयाँ रोभरलाई पर्सिभरेन्स र क्युरियोसिटी दुवै रोभरका इन्जिनियरिङ संस्करणको ‘हाइब्रिड’ भनिएको छ। त्यसैले यसमा दुवै रोभरका विशेषता हुन सक्ने सम्भावना छ।

प्रोमिस नाम राख्नुअघि पर्सिभरेन्सको परीक्षण मोडललाई अपरेशनल पर्सिभेरन्स ट्विन फर इन्टिग्रेशन अफ मेकानिजम्स एण्ड इन्स्ट्रुमेन्ट्स सेन्ट टू मार्स भनिन्थ्यो। यसको छोटकरी नाम अप्टिमिजम थियो।

नासाका प्रशासक जारेड आइज्याकम्यानले एजेन्सीको चन्द्रमा आधारसम्बन्धी योजनाबारे जानकारी दिँदै भने, “हामीसँग मंगल ग्रहको सतहमा यी दुई रोभर सञ्चालन गरेको वर्षौंको अनुभव छ र करदाताले ठूलो लगानी गरेको यो हार्डवेयर पनि हामीसँग छ। त्यसैले प्रश्न उठ्यो– ‘यसलाई चन्द्रमामा पठायौँ भने के हुन्छ?’ … यसले छोटो समयमै चन्द्रमाको दक्षिणी ध्रुवमा ठूलो क्षमता पुर्‍याउनेछ।”

नासाले प्रोमिस लाई चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययनका लागि प्रयोग गर्ने योजना बनाएको छ। उक्त क्षेत्र भविष्यका चन्द्र आधारका लागि सम्भावित स्थान मानिन्छ, किनभने त्यहाँ प्रशस्त पानीको हिउँ रहेको अनुमान छ।

रोभरले चन्द्रमाको सतह र सतहमुनिको अवस्थाबारे पनि अध्ययन गर्नेछ। यसमा मल्टी-मिसन रेडियोआइसोटोप थर्मोइलेक्ट्रिक जेनेरेटर (एमएमआरटीजी) जडान गरिनेछ, जसले प्लुटोनियमलाई इन्धनका रूपमा प्रयोग गर्छ।

यो जेनेरेटरले प्लुटोनियमको प्राकृतिक क्षयबाट उत्पन्न तापलाई विद्युत्मा रूपान्तरण गर्छ। यसको अर्थ प्रोमिस ले चन्द्रमा अन्वेषण गर्न र आफ्नो उद्देश्य पूरा गर्न सूर्यको प्रकाशमा निर्भर हुनुपर्ने छैन।

मून बेस परियोजनाका कार्यक्रम व्यवस्थापक कार्लोस गार्सिया-गालनले भने, “चन्द्रमामा आधारित उद्देश्यका लागि यसमा आणविक आरटीजी हुनुको अर्थ हामी प्रकाशको अवस्था जस्तोसुकै भए पनि आफूले चाहेको जुनसुकै स्थानमा जान सक्छौँ। चन्द्रमाको रात पार गर्नु यस क्षमतासँग सम्बन्धित ठूलो चुनौतीमध्ये एक हुनेछ। यसबारे हामीले चिन्ता गर्नुपर्ने छैन।”

प्रोमिस चन्द्रमातर्फ कहिले जानेछ?

इन्ग्ग्याजेटका अनुसार यसका लागि धेरै कुरामा निर्भर हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, प्रोमिस अहिले अवधारणाकै चरणमा छ। अप्टिमिजम उडानका लागि तयार भइसकेको छैन र यसलाई काम गर्ने चन्द्र रोभर बनाउनुअघि धेरै परिवर्तन र अपग्रेड गर्नुपर्नेछ।

रोभरलाई मिसनका लागि तयार पार्न के-कस्ता काम गर्नुपर्छ भन्नेबारे नासाले अहिलेसम्म जानकारी दिएको छैन। तर द प्लानेटरी सोसाइटीका अनुसार यस रोभरमा भित्रको तापक्रम नियन्त्रण गर्ने सेन्सर, उडानका लागि तयार वैज्ञानिक उपकरण, सञ्चार प्रणाली वा जेनेरेटर छैन।

साथै, यसका उपकरणहरू चन्द्रमाको घर्षणयुक्त र धारिलो धुलो सहन सक्ने गरी तयार गरिएका छैनन्। अर्को शब्दमा, यसलाई चन्द्रमामा पठाउनुअघि ठूलो स्तरमा अपग्रेड गर्नुपर्नेछ।

द प्लानेटरी सोसाइटीका अनुसार प्रोमिस बनाउन नासालाई ७० करोडदेखि १ अर्ब ३० करोड अमेरिकी डलरसम्म खर्च लाग्न सक्छ। यो रोभर सन् २०३० को दशकको सुरुतिर मात्र प्रक्षेपण हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २५ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार