एटीएण्डटीले इकोस्टारको स्पेक्ट्रम प्रयोगमा ल्याउन एरिक्सनलाई रोज्यो

  • Technology Khabar | २५ श्रावण २०८३, सोमबार
एटीएण्डटीले इकोस्टारको स्पेक्ट्रम प्रयोगमा ल्याउन एरिक्सनलाई रोज्यो

काठमाडौं ।

अमेरिकी दूरसञ्चार कम्पनी एटीएण्डटीले इकोस्टारबाट हालै प्राप्त गरेको स्पेक्ट्रम प्रयोग गर्न ६०० मेगाहर्ज डुअल-ब्यान्ड रेडियोका लागि एरिक्सनलाई छनोट गरेको छ।

एरिक्सनका नयाँ रेडियोले एटीएण्डटीलाई नयाँ प्राप्त ६०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्न सहयोग गर्नेछन्। यसबाट कम्पनीले आफ्नो वायरलेस नेटवर्कलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।

एटीएण्डटीले इकोस्टारबाट प्राप्त गरेको स्पेक्ट्रम विशेष रूपमा महत्वपूर्ण रहेको बताइएको छ। उच्च फ्रिक्वेन्सीको स्पेक्ट्रमको तुलनामा ६०० मेगाहर्ज स्पेक्ट्रम लामो दूरीसम्म पुग्न सक्छ र भवनभित्र पनि बलियो कभरेज दिन सक्छ।

टेलिकम्स डटकमका अनुसार एटीएण्डटी आफ्नो वायरलेस नेटवर्क आधुनिकीकरणको काममा ६० प्रतिशतभन्दा बढी अघि बढिसकेको छ। कम्पनीका अनुसार पूर्वाधार अपग्रेड गरिएका क्षेत्रमा औसत इन्टरनेट स्पिडमा दुई गुणासम्म सुधार भएको छ।

त्यस्तै कल ड्रप र ब्लक हुने कलमा १० प्रतिशत कमी आएको, कम गतिमा डेटा चल्ने समस्या ७० प्रतिशतसम्म घटेको र सेल टावरको माथिल्लो भागमा उपकरणलाई मानकीकरण गरेपछि अपलिंक इन्टरफेरेन्स ८० प्रतिशतसम्म घटेको छ।

“यी अपग्रेडहरूले वायरलेस सेवाको माग बढ्दै जाँदा अमेरिकाको सबैभन्दा ठूलो वायरलेस नेटवर्कलाई थप डेटा बोक्न, छिटो प्रतिक्रिया दिन र ग्राहकलाई अझ निरन्तर रूपमा कनेक्ट राख्न सहयोग गर्ने उद्देश्य राखेका छन्,” कम्पनीले जनाएको छ।

एरिक्सनलाई नयाँ ६०० मेगाहर्ज डुअल-ब्यान्ड रेडियोको आपूर्तिकर्ताका रूपमा “खुला र प्रतिस्पर्धात्मक प्रक्रियामार्फत” छनोट गरिएको बताइएको छ। यो सम्झौताले एटीएन्डटीलाई पहिलोपटक लो-ब्यान्डमा 8RX प्रविधि प्रयोग गर्न अनुमति दिनेछ, जसले अपलिंक क्षमतामा सुधार गर्ने अपेक्षा गरिएको छ।

“यस कार्यले भविष्यका कनेक्टिभिटी आवश्यकतालाई सहयोग गर्नुका साथै एआईमा आधारित सामग्री सिर्जना, सेयरिङ र रियल-टाइम अन्तरक्रियाका लागि नेटवर्कलाई थप मजबुत बनाउनेछ,” विज्ञप्तिमा उल्लेख छ।

एटीएन्डटीका एसभीपी तथा नेटवर्क सीटीओ यिगाल एल्बाजले भने, “हामी हाम्रो वायरलेस नेटवर्क आधुनिकीकरणको आधाभन्दा बढी काम पूरा गरिसकेका छौँ र योजनाअनुसार अघि बढिरहेका छौँ। नयाँ प्राप्त ६०० मेगाहर्ज स्पेक्ट्रमलाई एरिक्सनका उन्नत रेडियोसँग संयोजन गरेर हामी ग्राहकका लागि कभरेज र कार्यसम्पादन सुधार गर्दै भविष्यका लागि थप आधुनिक र लचिलो नेटवर्क निर्माण गरिरहेका छौँ।”

एरिक्सन अमेरिकाजका एसभीपी तथा एटीएन्डटी कस्टमर युनिट प्रमुख ड्योन एग्न्युले भने, “एटीएन्डटीको नेटवर्क आधुनिकीकरणले खुला आर्किटेक्चर र उन्नत क्षमताले ठूलो स्तरमा नेटवर्कको कार्यसम्पादन कसरी परिवर्तन गर्न सक्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ। हामी मिलेर अमेरिकाभर छिटो स्पिड, थप भरपर्दो कभरेज र ग्राहकलाई थप स्थिर अनुभव प्रदान गर्न सहयोग गरिरहेका छौँ।”

एटीएन्डटीले आफ्नो ६०० मेगाहर्ज स्पेक्ट्रम प्रयोगसम्बन्धी योजनाबारे भविष्यमा थप विवरण सार्वजनिक गर्ने बताइएको छ। यसमा कार्यान्वयनको समय र व्यावसायिक रूपमा सेवा उपलब्ध हुने समय पनि समावेश हुने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

एटीएन्डटीले गत महिना इकोस्टारबाट स्पेक्ट्रम खरिद गर्न २३ अर्ब अमेरिकी डलरको सम्झौता पूरा गरेको थियो। इकोस्टार आफ्नो एउटा व्यवसायिक इकाइको ऋण तिर्ने समयसीमा पूरा गर्न संघर्ष गरिरहेको र त्यसका कारण उक्त इकाइले दिवालियापनका लागि आवेदन दिन सक्ने अवस्थामा पुगेको रिपोर्ट सार्वजनिक भएको थियो।

गत महिना एटीएन्डटी र एरिक्सनले ५जी नेटवर्कमार्फत नेटवर्क सेन्सिङ प्रयोग गरेर ड्रोन पत्ता लगाउने प्रविधिको प्रदर्शन पनि गरेका थिए।

टेक्सासको आर्लिङ्टनस्थित एटीएन्डटी स्टेडियमबाहिर गरिएको उक्त प्रदर्शनमा उनीहरूले एकैपटक धेरै ड्रोन पत्ता लगाएर तिनको स्थान पहिचान गर्नुका साथै गतिविधि ट्र्याक गरेका थिए। यसले वायरलेस पूर्वाधारलाई ठूला कार्यक्रमस्थल र महत्वपूर्ण पूर्वाधारको सुरक्षामा प्रयोग गर्न सकिने देखाएको कम्पनीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार