स्ट्रिमिङका लागि एचडीएमआई २.० पर्याप्त छ कि २.१ मा अपग्रेड गर्नुपर्छ: यस्तो छ तथ्य

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
स्ट्रिमिङका लागि एचडीएमआई २.० पर्याप्त छ कि २.१ मा अपग्रेड गर्नुपर्छ: यस्तो छ तथ्य

काठमाडौं ।

घरको मनोरञ्जन प्रणालीमा प्रयोग हुने विभिन्न केबलबारे धेरैले खासै ध्यान दिँदैनन्। तर ती उपकरण र केबलहरूले कसरी काम गर्छन् भन्ने बुझ्दा आफ्नो सेटअपबाट अधिकतम लाभ लिन सकिन्छ।

त्यसमध्ये एचडीएमआई (हाइ–डेफिनिसन मल्टिमिडिया इन्टरफेस) सबैभन्दा धेरै प्रयोग हुने मापदण्डमध्ये एक हो। यसले अडियो र भिडियो दुवै सिग्नल प्रसारण गर्ने भएकाले टेलिभिजन, मोनिटर, गेमिङ कन्सोल र साउन्ड सिस्टमहरूमा व्यापक रूपमा प्रयोग हुन्छ।

हाल एचडीएमआई का दुई प्रमुख संस्करण एचडीएमआई २.० र एचडीएमआई २.१ प्रचलनमा छन्। एचडीएमआई २.० सन् २०१३ मा र एचडीएमआई २.१ सन् २०१७ मा सार्वजनिक गरिएको थियो। एचडीएमआई २.२ अन्तिम रूप पाइसकेको भए पनि अझै व्यापक रूपमा उपलब्ध छैन।

इन्ग्याजेटका अनुसार एचडीएमआई २.० र २.१ का केबलहरू एकअर्कासँग मिलेर काम गर्न सक्छन्। एचडीएमआई २.१ केबल एचडीएमआई २.० पोर्टमा र एचडीएमआई २.० केबल एचडीएमआई २.१ पोर्टमा जडान गर्न सकिन्छ।

यी दुई संस्करणबीचको मुख्य भिन्नता ब्यान्डविथ र डाटा प्रसारण क्षमतामा छ। एचडीएमआई २.० ले ४के रिजोल्युसनमा ६० हर्ज रिफ्रेस रेटसम्म समर्थन गर्छ भने एचडीएमआई २.१ ले सोही फोरके रेजोल्युसनमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध गराउन सक्छ।

यसका आधारमा एचडीएमआई २.१ ले भिडियो स्ट्रिमिङमा राम्रो अनुभव दिने जस्तो देखिए पनि वास्तविकतामा अधिकांश स्ट्रिमिङ सेवाहरूले फोरके/६० हर्जसम्म मात्र सामग्री उपलब्ध गराउँछन्। त्यसैले हालको अधिकांश टेलिभिजन र स्ट्रिमिङ सेवाका लागि एचडीएमआई २.० नै पर्याप्त मानिन्छ।

दुवै एचडीएमआई २.० र एचडीएमआई २.१ ले फोरके भिडियो प्रसारण गर्न सक्ने भएकाले चलचित्र र टेलिभिजन कार्यक्रमहरू दुवै संस्करणमा स्पष्ट र उच्च गुणस्तरमै हेर्न सकिन्छ।

एचडीएमआई २.१ को वास्तविक फाइदा मुख्यतः गेमिङमा देखिन्छ। विशेषगरी प्रतिस्पर्धात्मक अनलाइन खेल खेल्ने वा उच्च क्षमतायुक्त पीसी तथा प्लेस्टेशन ५ प्रो प्रयोग गर्नेहरूका लागि ४के रिजोल्युसनमा १२० हर्ज रिफ्रेस रेट महत्त्वपूर्ण हुन सक्छ।

यस्तो अवस्थामा एचडीएमआई २.१ केबलसँगै टिभी वा मोनिटरले पनि एचडीएमआई २.१ समर्थन गर्नुपर्छ। किनभने सम्पूर्ण सेटअपको प्रदर्शन सबैभन्दा कम क्षमताको उपकरणले निर्धारण गर्छ।

यदि एचडीएमआई २.० प्रयोग भइरहेको छ भने हार्डवेयरले फोरके र १२० हर्ज समर्थन गरे पनि प्रदर्शन फोरकेमा ६० हर्जसम्म सीमित हुनेछ। १२० हर्ज प्राप्त गर्न चाहिने अवस्थामा रेजोल्युसनलाई १०८० पीमा झार्नुपर्ने हुन सक्छ।

त्यसैले सामान्य भिडियो स्ट्रिमिङका लागि एचडीएमआई २.१ मा अपग्रेड गर्न आवश्यक छैन। तर उच्च रिफ्रेस रेटसहितको गेमिङ अनुभव चाहने प्रयोगकर्ताका लागि भने एचडीएमआई २.१ उपयुक्त विकल्प हुन सक्छ।

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...