काठमाडौं ।
मेटा प्लेटफर्म्स र एसेलोरलक्सोटिकाले मंगलबार कम मूल्यका नयाँ एआई स्मार्ट चस्माको शृंखला सार्वजनिक गरेका छन्। कम्पनीहरूले यसअघि ल्याएका रेब्यान स्मार्ट चस्माको सफलतापछि नयाँ उत्पादन ल्याएका हुन्।
नयाँ मेटा ग्लासेसको सुरुआती मूल्य २९९ डलर राखिएको छ, जुन गत वर्ष सार्वजनिक गरिएको ८०० डलर मूल्यको रेब्यान डिस्प्ले ग्लासेसभन्दा निकै सस्तो हो।
फेसबुकको मातृ कम्पनी मेटाले “पर्सनल इन्टेलिजेन्स” को अवधारणालाई अघि बढाउँदै कृत्रिम बुद्धिमत्ताको फाइदा व्यक्तिगत प्रयोगकर्तासम्म पुर्याउन अर्बौं डलर लगानी गर्दै आएको छ।
रोयटर्सका अनुसार लक्सोटिकासँगको सहकार्यमा निर्माण भए पनि नयाँ चस्मा रेब्यान वा ओक्लीजस्ता कम्पनीका लोकप्रिय ब्रान्डसँग जोडिएका छैनन्। यो मेटाको पहिलो एआई चस्मा शृंखला हो जुन ती ब्रान्डबाहिर ल्याइएको हो।
नयाँ चस्मा विभिन्न रंग र डिजाइनमा उपलब्ध हुनेछन्। यसमा आयताकार शैलीका मोडेलका साथै सञ्चारकर्मी तथा व्यवसायी काइली जेनरसँगको सहकार्यमा तयार गरिएको पातलो अण्डाकार फ्रेमको शृंखला पनि समावेश छ।
यी उपकरण मेटाका पहिलो एआई चस्मा पनि हुन्, जसमा कम्पनीको सुपरइन्टेलिजेन्स ल्याब्सबाट विकसित पहिलो मोडेल ‘म्युज स्पार्क’ मा आधारित मेटा एआई समावेश गरिएको छ।
मेटाका स्मार्ट चस्माको सफलतापछि गुगल र एप्पलजस्ता अन्य प्रविधि कम्पनीहरूले पनि यस्तै उपकरण विकासको सम्भावना खोज्न थालेका छन्।
इन्टरनेशनल डेटा कर्पोरेसनका अनुसार गत वर्ष विश्वभर ९६ लाख स्मार्ट चस्मा बिक्री भएका थिए, जसमध्ये करिब ७६.१ प्रतिशत हिस्सा मेटाको थियो।
मेटाको यो घोषणा स्न्यापच्याटको मातृ कम्पनी स्न्यापले २,१९५ डलर मूल्यका अग्मेन्टेड रियालिटी चस्मा सार्वजनिक गरेको एक सातापछि आएको हो। स्न्यापका चस्माले वास्तविक दृश्यमा डिजिटल सामग्री देखाउने सुविधा दिन्छन् भने मेटाका चस्माले टेक्स्ट प्रदर्शन र एआईसँग अन्तरक्रिया गर्ने सुविधा प्रदान गर्छन्।
प्रकाशित: ११ असार २०८३, बिहीबार